गण्डकी । पोखरा महानगरपालिका–१ भीमकालीपाटनस्थित विध्यवासिनी संस्कृत विद्यापीठमा छात्र भोजन गृह निर्माण गरिएको छ । कास्कीको रुपा गाउँपालिका निवासी ई किरिटी सुवेदी(हाल अमेरिका, इम्पावर नेपाल फाउण्डेशन) को १२ हजार अमेरिकी डलर आर्थिक सहयोगमा दुई कोठे भवन निर्माण गरिएको हो ।
प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले आज एक कार्यक्रमबीच नवनिर्मित छात्र भोजन गृहको उद्घाटन गरे । पूर्वीय दर्शनका साथै प्राचीन संस्कृत भाषा, सभ्यता र वाङ्मयको उजागर गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उनले संस्कृत शिक्षासँगै हाम्रा प्राचीन संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने बताए ।
संस्कृत शिक्षाको विकासका लागि प्रदेश सरकारका तर्फबाट सहयोग गर्ने विश्वास उनले व्यक्त गरे । विद्यापीठ विकास समितिका अध्यक्ष परशुराम बरालले विभिन्न साथ र सहयोगमा विद्यापीठ वर्तमान अवस्थामा आइपुगेको जनाउँदै पोखरामा संस्कृत माध्यमिक विद्यालय र विद्यापीठबीच एकापसमा सहकार्य गर्दै अघि बढाइएको बतचाए ।
विद्यापीठ विकास समितिका संस्थापक अध्यक्ष लीलाभक्त आचार्यले सामान्य अवस्थामा सुरु गरिएको विद्यापीठ क्रमशः साधनस्रोत सम्पन्न बन्दै गएको धारणा राखे । विद्यापीठका प्राचार्य डा जगन्नाथ रेग्मीले छात्रावास भवन निर्माण भइसकेको र छात्र भोजन गृह अपरिहार्य रहेका अवस्थामा निर्मित भवन अध्ययनरत विद्यार्थीका लागि बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विद्यापीठका पूर्वप्राचार्य प्रा डा शालिग्राम सुवेदी, विकास समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद बराल, वडाध्यक्ष शारदा पराजुली, संस्कृत मावि व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारी, किरिटी सुवेदी, वासुदेव पौडेल, प्रवीणचन्द्र बराललगायतले संस्कृत शिक्षाको आवश्यकताका विषयमा बोलेका थिए । उक्त अवसरमा भोजन गृह निर्माणमा सहयोग गरेका सुवेदीलाई विद्यापीठका तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो ।