सकियो २७ सम्पदाको पुनः निर्माण, २० को सुरु हुनै बाँकी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सकियो २७ सम्पदाको पुनः निर्माण, २० को सुरु हुनै बाँकी


२९ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमान ढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनः निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनः निर्माण भइरहेको हनुमान ढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

विश्व सम्पदा क्षेत्रमा रहेका ७० सम्पदामध्ये १४ वटामा कुनै क्षति नभएको अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। ‘हाल बनिरहेका सम्पदाको काम नसकी अरु काम गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै सुरु हुन सकेको छैन, माजुदेगअघि कामदेव मन्दिर छ, माजुदेग पुनः निर्माण नसकी कामदेव मन्दिरको काम गर्न सकिँदैन’, उनले भने।

हनुमान ढोका विकास समितिबाट पुनः निर्माण भइरहेको गद्दी बैठक र नौतले भवनको बिचमा रहेको राणाकालीन सेतो भवन, फरास खाना, पृथ्वीनारायण शाहको शयन कक्ष, जैशी देवल र दश अवतार आगामी तीन महिनाभित्र पुनः निर्माण सम्पन्न गर्ने गरी तीव्र रूपमा काम भइरहेको छ । त्यसै गरी यहाँको अर्को महत्त्वपूर्ण सम्पदा काष्ठमण्डप पनि दशैँअगावै सक्ने गरी काम भइरहेको छ । हाल यस सम्पदामा गजुर राख्ने तयारी छ ।

आगम्छे घर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनः निर्माण भइरहेको अड्डाले जनाएको छ । जगन्नाथ र गोपीनाथ मन्दिर बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनः निर्माण भइरहेको छ । कामपाबाट पुनः निर्माण भइरहेको माजुदेग, शिव पार्वती मन्दिर र नारायण मन्दिरको भने निर्माण कार्य सुस्त गतिमा भइरहेको छ ।

हनुमान ढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनः निर्माण भइरहेको छ । दरबारको ७० प्रतिशत काम सकिएको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनः निर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ । यसै गरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनः निर्माण सम्पन्न भइसकेको छ ।

सूचना केन्द्र सञ्चालनको तयारी

विश्वभरि फैलिएको कोरोना महामारीका कारण अहिले यस सम्पदा क्षेत्रमा कोही पनि पर्यटक आउँदैनन् । आगामी दिनमा पर्यटक प्रवर्द्धनका लागि सूचना केन्द्र सञ्चालनको तयारी छ । यसका लागि सबै तयारी पूरा भए पनि कोरोनाका कारण रोकिएको हो । काष्ठमण्डप नजिकै रहेको सिंह सत्तलमा पहिलो तलामा पर्यटकका लागि जानकारी केन्द्र तयारी गरिएको हो । केन्द्रमा इन्टरनेटको सुविधासहित अडियो भिडियोको सुविधा हुनेछ । काठमाडौँका मुख्य जात्रा इन्द्रजात्रा, गाईजात्रा, सेतो मछिन्द्रनाथको जात्रा, कुमारी र कुमारी घरसँगै समग्र हनुमान ढोकाका बारेमा जानकारी दिइने छ ।

केन्द्र सञ्चालन गर्न लागिएको हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका आर्किटेक इन्जिनियर अमित बज्राचार्यले जानकारी दिए । उनका अनुसार कोरोना हुनुभन्दा पहिले विदेशी आगन्तुकबाट लिएको प्रवेश शुल्कबाट नै वार्षिक रु २० करोडसम्म आम्दानी हुने गरेकामा अहिले लगभग शून्य रहेको छ । गत आर्थिक वर्षमा जम्मा रु एक लाख ५० हजार मात्र आम्दानी भएको छ ।

प्रताप मल्लले विसं १७२९ मा दरबारको मुख्य प्रवेशद्वार नजिकै हनुमानको मूर्ति स्थापना गराएपछि हनुमान ढोका दरबार हुन गएको जानकार बताउँछन् । त्यसपछि श्री ५ पृथ्वीनारायण शाहले विसं १८२६ मा वसन्तपुर दरबार निर्माण गराएपछि यसलाई वसन्तपुर दरबार पनि भन्न थालिएको इतिहास छ ।

हनुमान ढोका दरबारको सबैभन्दा पुरानो भाग विसं १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूल चोकलाई मानिन्छ । सुन्दरी चोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्ति, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, काल भैरव, काष्ठमण्डपलगायत वरिपरि रहेका अन्य सम्पदालाई पनि यहाँको महत्त्वपूर्ण सम्पदा मानिन्छ । यस स्थानमा मुख्य गरी विभिन्न ११ वटा महत्त्वपूर्ण चोक छन् ।

त्यसै गरी यहाँको अर्को महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको प्रसिद्ध कुमारी घरको निर्माण कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले विसं १८१३ मा गराएका हुन् ।

कुमारीको महत्त्व

पर्यटकको आकर्षणको केन्द्र वसन्तपुरमा कुमारी घर र कुमारी पनि एक आकर्षण हो । नेपालमा कुमारीको पूजा १७ औँ शताब्दीदेखि सुरु भएको अनुमान गरिएको छ । काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल र तलेजु भवानीबिच पासा खेलिरहेका बेला राजा जयप्रकाशकी रानीले देखेपछि तलेजु भवानी त्यहाँबाट अलप भएको र त्यसपछि तलेजु भवानीले सपनामा राजालाई अबदेखि वर्षमा एक पटक मात्र दर्शन दिन सक्ने बताएको किंवदन्ती छ ।

शाक्य वंशकी छोरीलाई कुमारी बनाई रथजात्रा चलाउनू भन्ने तलेजु भवानीको आग्रहअनुसार राजा जयप्रकाशले कुमारी जात्राको प्रचलन चलाएको इतिहास रहेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जानकारी दिए ।

काठमाडौँ उपत्यकाकी जीवित देवी कुमारी वर्षमा १३ पटक कुमारी घरबाट निस्कने गरेकी छन् । एक पटक पौष शुक्ल अष्टमीको दिन, मुख्य जात्राको रूपमा रहेको इन्द्रजात्रा, बडादसैँ, चैते दसैँ, घोडे जात्रा, सेतो मच्छिन्द्र जात्रा, सेतो मच्छिन्द्रनाथ स्नान हुँदा, गाईजात्राको भोलिपल्ट, पचली भैरव जात्राको समयमा र चाँगुनारायणबाट कलश ल्याउँदा कुमारी बाहिर निस्कने गरेकी छन्।

कुमारीको दैनिकी

कोरोना नहुँदा दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्मको समय दर्शनको हो । मध्याह्न १२ देखि ४ बजेको समय कुमारीको अध्ययन गर्ने समय हो । हाल कोरोना सङ्क्रमणका कारण अन्य मठमन्दिरमा जस्तै दर्शनमा रोक लगाइएको छ । अहिलेको कुमारीलाई कुमारी हुनुभन्दा पहिले जुन विद्यालयमा अध्ययन गर्थिन् सोही विद्यालयका शिक्षकले कुमारी घरमा नै आएर अध्यापन गराउने गराएका छन् । हाल उनी स्वयम्भूमा रहेको मैत्री बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत छिन्। अहिले कुमारीले अन्य विद्यार्थीले जस्तै अनलाइनबाट कक्षा लिइरहेकी छन् ।

हरेक दिन नित्य पूजाका लागि तलेजु भगवतीको पुजारीले उनको पूजा गर्छन्। बिहान ९ बजेदेखि १० बजेसम्म हिन्दु पुजारी र बौद्ध धर्म मान्ने पुजारीबाट उनको पूजाआजा हुने गर्दछ । उनले ११ बजेदेखि १२ बजेको समयमा खाना खाने तालिका छ । कुमारी घरमा उनको हेरविचार गर्नका लागि एउटा छुट्टै परिवार नै खटिएको छ ।

कुमारीहरु कुमारीको रूपमा कति समय बस्ने भन्ने यकिन नभए पनि तीनदेखि चार वर्षमा आउने र ११ देखि साढे ११ वर्षसम्मअर्थात् पहिलो पटक महिनावारी हुने समय अघिसम्म बस्न पाइने छ ।

पहिलेदेखि नै कति कुमारी रहे भन्ने यकिन जानकारी नरहे पनि हालको कुमारी ५५ नम्बरमा पर्ने इन्द्रजात्रा व्यवस्थापन समितिले जानकारी दिएको छ । नब्बे सालको भूकम्पपछि कुमारीको गणना गर्न थालिएको बताइएको छ ।

कुमारीको मासिक तलब ५० हजार

काठमाडौँ महानगरपालिकाले कुमारीलाई मासिक तलब स्वरूप रु ५० हजार उपलब्ध गराउने गरेको छ । यो व्यवस्था २०५८ सालबाट सुरु भएको हो । त्यसै गरी पूर्वकुमारीका लागि पनि मासिक रु १५ हजार दिने व्यवस्था गरिएको छ । हाल जीवित नौ जना पूर्वकुमारी रहेका छन् भने उनीहरुमध्ये पाँच जनाले विवाह गरिसकेका छन् । लामो समयदेखि जीर्ण रहेको कुमारी घरको पनि मर्मत गर्ने तयारी रहेको छ । यसका लागि कामपाले उपभोक्ता समितिमार्फत निर्माण गर्नका लागि रु एक करोड विनियोजन गरेको छ ।

संयुक्त राष्ट्र सङ्घीय अङ्ग युनेस्कोद्वारा बहुमूल्य सम्पदाका रूपमा सूचीकृत विश्वका स्मारक र स्थानलाई विश्व सम्पदा भन्ने गरिन्छ । यसमा कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्त्व राख्ने धरोहरलाई यसमा समावेश गरिन्छ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ र उक्त समितिमार्फत नै संरक्षण गरिन्छ ।

युनेस्कोले विश्व सम्पदा क्षेत्रमा नेपालका विभिन्न सम्पदालाई सूचीकृत गरेको छ । काठमाडौँ उपत्यकाकाबाट तीन वटा ऐतिहासिक दरबार, दुई वटा बौद्ध स्तूप र दुई हिन्दु मन्दिरसँगै उपत्यकाबाहिर लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्जलाई समावेश गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस