खोटाङ । ठेकेदारले काम गरेबापतको पारिश्रमिक तथा होटल र पसलको रकम भुक्तानी नदिएको भन्दै महुरे–राजापानी सडक खण्ड कालोपत्रको काममा खटिएका कामदार तथा स्थानीय व्यवसायीले निर्माण कम्पनीको चाबी नियन्त्रणमा लिएर काम ठप्प बनाएका छन् ।
भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभीका ठेकेदारले काम गरेबापतको पारिश्रमिक तथा होटल, हार्डवेयर, खाद्य सामग्रीलगायतको भुक्तानी नदिएको भन्दै कामदार तथा स्थानीय व्यवसायीले यही साउन २ गते निर्माण कम्पनीका ट्रक, टिपर र ट्र्याक्टरको चाबी नियन्त्रणमा लिएर काम ठप्प बनाएका हुन् ।
विसं २०७६ मा ठेकेदार कम्पनीसँग गरिएको सम्झौताअनुसार निर्माण कम्पनीका ठेकेदारले आफूहरुलाई दिनुपर्ने रकम भुक्तानी नदिएपछि चाबी नियन्त्रणमा लिएर सडक निर्माणको काम रोक्नुपरेको बुइपाका व्यवसायी मोहन श्रेष्ठले बताए। ‘ठेकेदारले यसअघि गरेका सम्झौताअनुसार हामीलाई भुक्तानी दिएको छैन’, उनले भने, ‘ठेकेदारलाई फोन गर्दा फोन उठाउँदैन, हामीलाई ढाँटेको ढाँट्यै गरेपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक र ठेकेदारलाई भनेरै निर्माण कम्पनीमा सञ्चालित सबै सवारी साधनको चाबी मागेर राखेका छौँ ।’
कामदार तथा स्थानीय व्यवसायीले ठेकेदारबाट रकम भुक्तानी नपाएपछि यसअघि २०७६ पुस २० गतेदेखि एक महिना र फागुन ८ गतेदेखि दुई दिन सडक निर्माणको सम्पूर्ण काम ठप्प बनाएका थिए । यसअघि गरिएको सम्झौताअनुसार ठेकेदार कम्पनीबाट माग पूरा नभएपछि कामदार तथा स्थानीय व्यवसायीले पुनः सोही माग राखेर सडक कालोपत्रको काममा अवरोध गरेका हुन् ।
स्थानीय कामदार तथा व्यवसायीको अवरोधका कारण यही साउन २ गतेदेखि नै सडक निर्माणको सम्पूर्ण काम ठप्प बनेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने कामदार तथा व्यवसायीले निर्माण कम्पनीको सवारी साधनको चाबी नियन्त्रणमा राखेको विषयमा दुवै पक्षबाट जानकारी नआएको बताए।
सडक कालोपत्रको काममा स्थानीय व्यवसायी तथा कामदारले गरेको अवरोध फुकाउने विषयमा हालसम्म कसैको ध्यान पुगेको छैन । कामदार तथा स्थानीय व्यवसायीले निर्माण कम्पनीबाट रु २८ लाख पाउन बाँकी रहेको बताएका छन् । महुरेमा रात दिन गिट्टी कुटेका दर्जनौँ महिला कामदारले समेत पारिश्रमिक पाएका छैनन् । गिट्टी कुटेबापत ठेकेदार कम्पनीबाट प्रतिव्यक्ति कम्तीमा रु ३० हजार रकम भुक्तानी नपाएको स्थानीय एक महिला कामदारले गुनासो गरे ।
निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/सिद्धी शाही जेभीका सुपरभाइजर गणेशप्रसाद तिम्सिनाले गाईघाट–दिक्तेल सडक कार्यालयले दुई वर्षयता बिल भुक्तानी नदिएकाले कामदार तथा व्यवसायीको बक्यौता रकम भुक्तानी दिन नसकिएको बताए ।
पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडक झन्डै दुई वर्षयता कालोपत्रको काम सन्तोषजनक देखिएको छैन । कामदार तथा स्थानीय व्यवसायीले अवरुद्ध बनाएको काम पुनः सुरु गर्ने र बिचैमा रोक्ने क्रम पटक–पटक चल्दा सडक कालोपत्रको प्रगति नदेखिएको हो ।
सडक कालोपत्रको काममा ढिलासुस्ती गरेकामा भारत कन्स्ट्रक्सन/सिद्धी शाहीबाट करिब रु साढे छ करोड बैङ्क ग्यारेन्टी तानिसकिएको गाईघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ । उक्त कम्पनीले २०७७ असार २९ गते सम्पन्न गर्ने सर्तमा २०७३ असार ३० गते रु ४१ करोड ५० लाख लागतमा महुरे–राजापानी ९२२ किलोमिटर० सडक कालोपत्रे गर्ने गरी योजनाको सम्झौता गरेको थियो ।
सम्झौता गरेको तीन वर्ष बितिसक्दा पनि महुरे–राजापानी सडक खण्डको भौतिक प्रगति ३५ प्रतिशत मात्र देखिएको स्थानीय बासिन्दा मिलन राईले बताए । ‘सडक कालोपत्रको काममा चरम ढिलासुस्ती भएको छ’, उनले भने, ‘भएका काम पनि गुणस्तरहीन भएको र त्यहाँ कार्यरत कामदारले लामो समयसम्म भुक्तानी पाएका छैनन्, यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’
यस्तै, देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले कालोपत्रे गर्ने जिम्मा लिएको सिम्पानी भञ्ज्याङ–फोक्सिङटार (२७ किलोमिटर) सडकको हालसम्म करिब ५९ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ । रु ५५ करोड ८७ लाख लागतमा २०७७ साउन १० गतेभित्र कालोपत्रको सम्पूर्ण काम पूरा गर्ने सर्तमा २०७३ साउन ११ गते सो सडकको सम्झौता भएको थियो ।