काठमाडौँ । नक्कली नो–अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोज्ने एक जना पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौँ महानगरपालिका–९ बस्ने झापा भद्रपुर नगरपालिका–७ घर भएका २४ वर्षीय सुमन राजवंशीलाई शुक्रवार दिउँसो पक्राउ गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी भएको एनओसी नम्बर ७७१२८९२ को नो–अब्जेक्सन लेटरमा विवरण किर्ते गरेर आफ्नो नाममा जारी भएको बनाई युक्रेन जान लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका –९ सिनामंगलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।