काठमाडौँ । कांग्रेस संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन् । आज(आइतवार) को प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ मत पाएका हुन् । २४९ जना उपस्थित थिए । विपक्षमा ८३ मत र दिन्न भन्ने पक्षमा एक मत परेको छ ।
सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका छन् ।
एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि उनले सजिलै विश्वासको मत प्राप्त गरेका हुन् । देउवालाई नेकपा एमालेका नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका २२ सांसदले मत दिएका हुन् ।
देउवा २९ असारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए। यस उपधारा अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। त्यहि व्यवस्थाअनुसार, देउवाले आज विश्वासको मत लिएका हुन्।
सर्वोच्चले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो।
विश्वासको मत पाएसँगै देउवाले प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउने छन् । अब प्रतिनिधिसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ । यो समय गुजारेपछि देउवाले आगामी प्रतिनिधिसभाको निर्वाचन गराउनेछन् ।