हुम्लाका ९ बालबालिकाको काठमाडौँबाट उद्धार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हुम्लाका ९ बालबालिकाको काठमाडौँबाट उद्धार


२१ असार २०७८, सोमबार


सिमकोट । हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ।

लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले आइतबार प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा एक बालिका र आठ बालकलाई परिवारसँग पुर्नमिलन गराएको हो ।

आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ विपरीत सञ्चालन रहेको हुँदा गत फागुन १९ गते काठमाडौँको तारकेश्वर नगपालिका-६ मा रहेको धर्मस्थलीस्थित लाइट फर नेशनल बालगृहबाट राष्ट्रिय बाल अधिकार परिषद्, तारकेश्वर नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र १०४ र प्रहरी चौकी धर्मस्थलीको संयुक्त टोलीले आठ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको हो ।

पछिल्लो समय बालबालिकालाई निःशुल्क पढ्न, लेख्न र बस्न दिने प्रलोभन देखाई बालगृहमा राखेर जबरजस्ती धर्म परिवर्तन गराउने र अभिभावकहरुबाटसमेत रकम असुल गरेको देखिएको छ । आफ्ना दुई बच्चालाई कक्षा १२ सम्म पढाइदिन्छु भनेर आफूबाट रु एक लाख लिएको अदनचुली-६ निवासी लालबहादुर शाहीले गुनासो पोखे ।

निःशुल्क गुणस्तरीय शिक्षाको बहानामा हुम्लाका विभिन्न गाउँबाट बर्सेनि धेरै बालबालिकाको बालगृहमा ओसारपसार हुने गरेको छ । बालबालिका र उनीहरुको अभिभावकलाई अनावश्यक प्रलोभन देखाई बालगृहमा भर्ना गर्ने प्रचलन बढेकाले सम्बन्धित निकायले यस सम्बन्धमा चासो दिनुपर्ने हिमाली नवीन संस्थाका प्रतिनिधि प्रभजन शाहीले बताए ।

त्यसैगरी हुम्लाका प्रजिअ गणेश आचार्यले उद्धार गरिएका बालबालिकालाई पाँच हजार बराबरको शैक्षिक सामग्री प्रदान गरेका छन् । हिमाली नवीन समाज हुम्लाले पनि प्रत्येक बालबालिकालाई एक झोला तथा कापीकलम सहयोग गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस