प्रतिनिधिसभा विघटन मुद्दा : आज रिट निवेदकको बहस सकिँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिनिधिसभा विघटन मुद्दा : आज रिट निवेदकको बहस सकिँदै


११ असार २०७८, शुक्रबार


काठमाडौँ ।  प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदकका तर्फबाट आज बहस सकिने भएको छ।

संवैधानिक इजलासमा सुनुवाई भइरहेको रिटमा निवेदक पक्षलाई दिइएको १२ घण्टाको समयअनुसार आज निवेदकका तर्फबाट ४ घण्टा ४५ मिनेट बहस भएपछि सकिने भएको हो। आज निवेदकको तर्फबाट २९ जना कानुन व्यवसायीलाई ३ देखि ३० मिनेटसम्मका समय तोकिएको छ।

आज वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतिषकृष्ण खरेललगायतले बहस गर्ने तयारी छ। यस्तै पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले पनि बहस गर्नेछन्।  वरिष्ठ अधिवक्ताहरुका लागि ३० मिनेट र पूर्व महान्यायाधिवक्ताका लागि २५ मिनेटको समय तोकिएको छ।

आइतबारदेखि सरकारी पक्ष अर्थात रिट निवेदकको विपक्षले बहस सुरु गर्नेछ। सरकारी पक्षलाई बहसका लागि १५ घण्टाको समय दिइनेछ।  त्यसपछि जवाफी बहसका लागि निवेदक पक्षले ३ घण्टाको समय प्राप्त गर्नेछ।

गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् । ती रिटहरुमाथि यही असार ९ गतेदेखि निरन्तर बहस हुँदै आएको छ ।

रिटमा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा।आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन गरिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस