काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनले मुलुकमा लोकतन्त्रमाथि नै खतरा देखिएको भन्दै यसविरुद्ध संघर्षमा उत्रनुपर्ने बताए ।
बिहीबार (आज) विपक्षी दलले गरेको पत्रकार सम्मेलनमा उनले आफूले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमाथि गरेको दावीलाई राष्ट्रपतिले अस्वीकार गरेर लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार गरिएको बताएका छन् ।
प्रधानमन्त्रीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णयका कारण संविधान नै संकटमा परेको भन्दै उनले अध्यादेशमार्फत शासन चलाउने, न्यायालय, संवैधानिक निकाय र राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने प्रवृत्ति प्रधानमन्त्रीमा देखिएको बताएका छन् ।
देउवाले भने, ‘कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउनको लागि जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्व तयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएका छन् ।’
प्रधानमन्त्रीले सिर्जना गरेको चुनौती पार गर्न आफूहरु संघर्षमा रहेको भन्दै देउवाले आवश्यक परेमा जनपरिचालन गर्ने बताएका छन् ।