काठमाडौँ । अमेरिकाले इरानबाट सञ्चालित दर्जनौँ समाचार वेबसाइट बन्द गरिदिएको छ । अमेरिकी न्यायिक विभागले इरानको इस्लामिक रेडियो र टेलिभिजनले सञ्चालन गरेको ३३ वटा वेबसाइट नियन्त्रणमा लिएको जनाएको छ ।
ती वेबसाइटहरूले दुष्प्रचार गरेको भन्दै अमेरिकाले बन्द गरिदिएको हो । इरानबाट सञ्चालित वेबसाइटहरूले मङ्गलवार आफ्नो गृहपृष्ठमा अमेरिकाले नियन्त्रणमा लिएको सूचना राखेको छ । अमेरिकाको अनुसन्धान ब्युरो र वित्त विभागले नियन्त्रणमा लिएको सूचना वेबसाइटको गृहपृष्ठमा उल्लेख गरिएको छ ।
त्यस्तै इरानको कट्टरपन्थी समूह हिज्बोल्लाहले सञ्चालन गरेको तीन वटा अन्य वेबसाइटमाथिसमेत अमेरिकाले पकड बनाएको छ । मङ्गलवार अल आलमटिभीको वेबसाइटमा भनिएको छ, ‘अलआलमटिभी डट नेटको डोमेन अमेरिकी सरकारले नियन्त्रणमा लिएको छ ।’