श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न आग्रह


६ असार २०७८, आइतबार


काठमाडौँ । नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न आग्रह गरेको छ ।

महासङ्घले कोरोना संक्रमणलाई बहाना बनाउँदै केही सञ्चारगृहले श्रमजीवी पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक नदिने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता क्रियाकलाप बढाएको बढाएको भन्दै त्यस्ता क्रियाकलाप रोक्न आग्रह गरेको छ ।

महासङ्घले आज विज्ञप्ति जारी जारी पारिश्रमिक नपाएका पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन, खाइपाइ आएको पारिश्रमिक नघटाउन र बेतलबी बिदामा नराख्न समेत आग्रह गरेको छ । ‘दोस्रो लहरको कोरोना संक्रमण दर वृद्धि भएसँगै श्रमजीवी पत्रकारका श्रम समस्या बढ्न थालेको छ, कोरोना संक्रमणका कारण उत्पन्न यो कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पञ्छन नमिल्ने महासङ्घको ठहर छ’–विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले संक्रमणको जोखिम मोलेर अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गरी श्रमजीवी पत्रकार ऐन र अन्य ऐनले तोकेअनुसारको सेवा–सुविधा प्रदान गर्न गराउन पनि आग्रह गरेको छ ।

श्रमजीवी पत्रकार ऐन र श्रमसम्बन्धी कानुन कार्यावन्यन गर्ने दायित्व सरकारको भएकोले ऐन कार्यान्वयनमा गम्भीर बन्न र ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारी सेवा–सुविधाबाट बञ्चित गर्न तथा श्रम समस्याका विषयमा तत्काल अनुगमन गर्न महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।

महासङ्घले यही असार ७ गते सोमबारदेखि विभिन्न सञ्चारगृहमा अनुगमन गर्ने भएको छ । सो अनुगमनपश्चात अनुगमन समितिबाट प्राप्त प्रतिवेदनका आधारमा सञ्चार गृहका सम्बन्धमा आवश्यक निर्णय लिएर महासङ्घले दबाबमूलक कार्यक्रम र कानुनी संघर्षमा जाने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस