गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै


४ असार २०७८, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन्।

आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।

संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत लिनु दुई दिन अघि प्रदेशसभामा जानकारी गराउनुपर्ने व्यवस्था अनुसार पोखरेलले बुधवार नै प्रदेशसभा सचिवालयमा गराइसकेको प्रवक्ता खड्काले बताए।

प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १ सय ६८ को ५ बमोजिम जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। मुख्यमन्त्री पोखरेललाई उनको दल नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ।

उनले विश्वासको मत पाउन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा भङ्ग गरी ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने छ। गण्डकी प्रदेशसभामा हाल ५९ सांसद छन्।

Tags :
प्रतिक्रिया दिनुहोस