वैदेशिक रोजगारीको आयाम विप्रेषण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वैदेशिक रोजगारीको आयाम विप्रेषण


१ असार २०७८, मंगलबार


नेपालको आर्थिक र सामाजिक परिदृश्यको एक महत्त्वपूर्ण पाटोकोरूपमा श्रम आप्रवासन देखा परेको छ । वैदेशिक रोजगारबाट प्राप्त हुने विप्रेषण विदेशमा आर्जित सीप र विश्व परिवेश बुझ्ने अवसरको प्राप्त हुनुका अतिरिक्त नेपाली अर्थव्यवस्थामा पुर्‍याएको सकारात्मक योगदानहरू महत्त्वपूर्ण छन्। यद्मपी नेपाली श्रमिकले वैदैशीक रोजगारमा जाँदा प्रस्थानपूर्व, रोजगारीको सिलसिलामा र फिर्तीको चरणमा विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको अवस्था छ। यी पक्षहरूलाई ध्यान दिँदै नैपाल सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभिन्न प्रयत्नहरू गर्दै आएको छ।

अन्तर्राष्ट्रिय आप्रवासन वर्तमान समाजको एउटा प्रमुख चरित्र हो। विश्वको जनसंङख्याको ३.५ प्रतिशत अर्थात् २७.२ करोड जनसङ्ख्या आफ्नो जन्मभूमिभन्दा बाहिर बसोबास गर्दछ। बाहिर बसोबास गर्ने जनसङ्ख्या करिब ६३.५ प्रतिशत आप्रवासी श्रमिककोरूपमा काम गर्दछन्। नेपालमा पनि ठुलो संङख्यामा नेपाली श्रमिकहरू वैदेशिक रोजगारका लागि अन्य राष्ट्रमा जाने गरेको पाइन्छ। सन २००८/०९ पछिको एक दशक अवधि भित्रमा करिब ४० लाख भन्दा बढी नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति प्राप्त गरेको तथ्याङ्क छ।

नेपालबाट श्रमिकहरू निश्चित समयको श्रम करारमा वैदेशिक रोजगारमा जाने गरेको पाइन्छ। जस मध्ये ठुलो अंश खाडी समन्वय परिषद्का राष्ट्रहरू र मलेसियामा जाने गरेको देखिन्छ। यस राष्टबाट प्राप्त विप्रेषण देशको कुल गार्हस्थ्य उत्पादनको एक चौथाइ बराबर हुने पुगेको छ। त्यसैले विप्रेषण वैदेशिक मुद्रा आर्जनको महत्त्वपूर्ण स्रोतकोरूपमा स्थापित हुन पुगेको छ।

वैदेशिक रोजगारले अवसर र चुनौती दुवै ल्याउँछ। वर्तमान समयमा नेपालको जनसङ्ख्याको ठूलो भाग युवा जनशक्तिले ओगटेको छ। बेरोजगारी जनसङ्ख्याको दर ११.४ प्रतिशत भएको र त्यसको पनि एक तिहाइ दीर्घकालीनरूपमा बेरोगार रहेको अवस्थामा वैदेशिक रोजगारले ठुलो सङ्ख्यामा नेपाली युवाहरूलाई रोजगारीको अवसर प्रदान गरेको छ।

पेट्रोलियम पदार्थको निर्यातबाट खाडी मुलुकहरूमा भएको तीव्र विकास तथा मलेसिया, जापान र गणतन्त्र कोरिया जस्ता पूर्वी र दक्षिण पूर्वी एसियाका राष्ट्रहरूमा श्रमिकको अभावले गर्दा नेपाली श्रमिकको लागि रोजगारीको अवसर बढेको छ।

नयाँ प्रविधिको कारण यातायात र दूर सञ्चारको क्षेत्रमा भएको द्रुत विकासले गर्दा अन्तर्देशीय आवागमनलाई सस्तो र सजिलो पनि बनाएको छ। आर्थिक तथा सामाजिक विप्रेषणको माध्यमबाट प्राप्त लाभले आप्रवासी श्रमिकको परिवारमा शिक्षा, स्वास्थ्य तथा जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याएको छ।

उल्लेखित आर्थिक लाभका अतिरिक्त श्रमिकको छनोट र रोजगार पक्रियामा हुने गलत अभ्यास र आप्रवासनबाट पर्ने समग्र आर्थिक तथा सामाजिक लागतलाई पनि बिर्सनु हुँदैन। वैदेशिक रोजगारका लागि चर्को ब्याजमा ऋण काढेर जानुपर्ने बाध्यता, रोजगारदाताबाट करार सम्झौतामा परिवर्तन तथा उल्लङ्घन गर्ने प्रवृत्ति, श्रमिकको अपर्याप्त सुरक्षा तथा मानव अधिकारको हनन जस्ता कारणले हालको वैदेशिक रोजगार बढी सतकर्ताका साथ हेर्ने गरेको पाइन्छ।

वैदेशिक रोजगार नेपालको सामाजिक तथा आर्थिक परिदृश्यको एउटा महत्त्वपूर्ण विशेषताकोरूपमा रही आएको छ। वैदेशिक रोजगारको आकार यसप्रतिको आकर्षण र विकर्षण पक्षले निर्धारण गर्ने गर्दछ। यसमा प्रमुख विकर्षण पक्षहरूमध्ये उमेरगत हिसाबले सक्रिय जनसङ्ख्याको लागि स्वदेशमा उत्पादनशील रोजगारको अवसरमा कमी, देखासिकीको कारणले वैदेशिक रोजगारका लागि उत्प्रेरित गर्ने सामाजिक दबाब आदि पर्दछ। त्यसैगरी वैदेशिक रोजगारमा आकर्षणका लागि उत्प्रेरित गर्ने प्रमुख पक्षहरूमा समान कामको लागि नेपालमा भन्दा विदेशमा बढी तलब तथा सुविधा पाइने, विदेशमा कार्यरत आफन्त तथा साथीभाइहरूको सञ्जाल तथा सम्पर्क, श्रमिकको सामाजिक तथा वृत्ति विकासमा वृद्धि आदि पर्दछन्। श्रम आप्रवासनको नयाँ अर्थशास्त्रअनुसार कृषि तथा अनौपचारिक क्षेत्र जस्ता अनिश्चित र अस्थिर क्षेत्रमा रहेको पारिवारिक आर्थिक निर्भरतालाई कम गरी अन्य स्रोतबाट आयस्रोत सुनिश्चित गर्नु पनि वैदेशिक रोजगार आकर्षणको कारण हो।

वैदेशिक रोजगार एउटा यस्तो जटिल विषय हो। जसमा सार्वजनिक तथा निजी क्षेत्रका विभिन्न सरोकारवालाहरू प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नै श्रम क्षेत्रको व्यवस्थापन तथा नियमन गर्ने केन्द्रीय निकाय हो। जसले नेपालको श्रम आप्रवासन सम्बन्धी नीति, कानुन तथा निर्देशिका निर्माण र कार्यान्वयन गर्दछ। यस मन्त्रालय अन्तर्गत रोजगार व्यवस्थापन महाशाखाले नेपालमा श्रम आप्रवासन सम्बन्धी सम्पूर्ण विषहरु हेर्दछ।

मन्त्रालय अन्तर्गत अर्को महत्त्वपूर्ण निकाय वैदेशिक रोजगार विभाग हो। जसले वैदेशिक रोजगार व्यवसायसँग सम्बन्धी सबै निजी क्षेत्रको व्यवस्थापन र नियमन सम्बन्धी कार्य गर्दछ। साथै यस विभागले रोजगारीका लागि श्रम स्वीकृत जारी गर्ने, गुनासो व्यवस्थापन गर्ने तथा आवश्यकता अनुसार श्रमिकलाई स्वदेश फिर्ता ल्याउने काममा समन्वयकारी भूमिमा निर्वाह गर्दछ।

नेपालको संविधानको धारा ५१ मा श्रम तथा रोजगार सम्बन्धी नीतिमासमेत वैदेशिक रोजगारलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी तथा अधिकारको प्रत्याभूति गर्न यस क्षेत्रको नियमन र व्यवस्थापन गर्न तथा वैदेशिक रोजगारबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने उल्लेख गरिएको छ। नेपाल सरकारले वैदेशिक रोजगारको व्यवस्थापनका लागि विस्तारित नीति तथा कानुनी रूपरेखा तयार पारेको छ। वैदेशिक रोजगार नीति २०६८, वैदेशिक रोजगार ऐन २०६४, वैदेशिक रोजगार नियमावली २०६४ यस क्षेत्रलाई दिशा निर्देशित गर्ने मुख्य कानुनी दस्ताबेजहरू हुन्।

वैदेशिक रोजगारको एक प्रत्यक्ष प्रतिफल भनेको विप्रेषण हो। हालको वर्षहरूमा विप्रेषणको आकार वृद्धि हुँदै गएको देखिन्छ। वैदेशिक रोजगारमा जाने श्रमिकको सङ्ख्या घटेतापनि विप्रेषण वृद्धि हुनु आफैमा सकारात्मक पक्ष हो। आव २०५७/५८ मा ४७ अर्ब विप्रेषण आप्रवाह भएकोमा आव २०७७/७८ को नौ महिना सम्ममा ७२९ अर्ब २ करोड पुगेको छ। जुन अघिल्लो वर्ष सोही समयको तुलनामा १६.५ प्रतिशतले वृद्धि भएको हो।

नेपालको संविधानमा वैदेशिक रोजगार प्राप्त पुँजी, प्रविधि र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने नीति अवलम्बन गरिने उल्लेख गरेको छ। यसका अतिरिक्त विप्रेषण व्यवस्थापनसम्बन्धी विभिन्न नीति तथा कार्यक्रमको व्यवस्थापन गरिएको छ। वैदेशिक रोजगार नीति २०६८, यस नीतिले वैदेशिक रोजगारलाई सुरक्षित तथा विश्वसनीय बनाउँदै यसबाट प्राप्त हुने प्रत्यक्ष वा अप्रत्यक्ष फाईदाहरुलाई उपयोग गरी दिगो आर्थिक तथा सामाजिक विकासका माध्यमबाट गरिबी न्यूनीकरणमा सघाउ पुर्‍याउने उल्लेख गरिएको छ। यस नीतिमा विप्रेषणलाई मानव विकासमा कार्यमा उपयोग गर्दै उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न विभिन्न प्रावधानहरूको व्यवस्था गरिएको छ। त्यसैगरी नेपाल राष्ट्र विप्रेषण विनियमावली, वित्तीय क्षेत्र विकास रणनीति, पन्ध्रौँ आवधिक योजना र नेपाल बजेट पनि विप्रेषणलाई दिशा निर्देशित गरेको छन्।

अन्त्यमा, विप्रेषण नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधारकाेरूपमा रहेको छ। वैदेशिक रोजगारबाट प्राप्त पुँजी, प्रविधि, अनुभव ज्ञान, सीप र क्षमतालाई स्वदेशमा लगानी गर्न सके ‘समृद्ध नेपाल सुखी नेपाली’को परिकल्पना पुरा गर्न सहयोग मिल्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस