पिप्ले-बन्दीपुर सडक कालोपत्र गरिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पिप्ले-बन्दीपुर सडक कालोपत्र गरिँदै


२८ जेष्ठ २०७८, शुक्रबार


तनहुँ । पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुर जाने सडक कालोपत्र गर्ने कार्य थालिएको छ । पृथ्वी राजमार्गअन्तर्गत पिप्लेबाट बन्दीपुर बजारसम्मको करिब सात किलोमिटर सडक स्तरोन्नतिपश्चात कालोपत्र थालिएको हो ।

सडक विभागको रु छ करोड र गाउँपालिकाको रु तीन करोड ६० लाख गरी रु नौ करोड ६० लाखको लागतमा असार महिनाभित्र सम्पन्न गर्ने कालोपत्र कार्य शुरु गरिएको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । सडकको दायाँबायाँ एक÷एक मिटर बढाएर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । रिटेनिङ पर्खाल उठाउने ठाउँका लागि ठेक्का लगाई काम शुरु भएको छ । उनले भने, ‘नाला निर्माण ठेक्का लागे पनि ठेकेदार भागेकाले नालाबिनाको कालोपत्र गर्न लागिएको छ ।’

सडक साँघुरो भएका कारण ठूला पर्यटकीय गाडी बन्दीपुर जान कठिनाइ भएपछि अघिल्लो वर्ष सडक छ मिटरको चौडा बनाएपछि यस वर्ष कालोपत्रको काम गरिएको उनले बताए । पिप्लेबजार र बन्दीपुर बजार क्षेत्रका करिब दुई किलोमिटर सात मिटरको फराकिलो सडक बनाइनेछ भने पाँच किलोमिटर छ मिटरको सडक हुनेछ । दुईतर्फी सवारी साधन गुड्न मिल्ने गरी सडक बनाइएको अध्यक्ष थापाले बताए । उनका अनुसार पिप्लेबजार र बन्दीपुर बजार क्षेत्रको पुरानो कालोपत्र सडक पूरै भत्काएर पुनःनिर्माण गर्ने योजना छ ।

प्रत्येक वडा कार्यालयसम्म कालोपत्र

बन्दीपुर गाउँपालिका मातहत रहेका छवटै वडा कार्यालयमा कालोपत्र पुर्‍याउने गरी काम गरेको छ । हरेक वडा कार्यालयमा कालोपत्र गर्ने अभियानअनुरुप वडा नं ६ मा जाने मार्गको करिब पाँच किलोमिटर कालोपत्र गरिसकेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । उक्त वडा जाने सडकको बीच भागमा केही कालोपत्र गर्न बाँकी रहेकाले तुरुन्तै सम्पन्न गर्ने योजना रहेको उनले जानकारी दिए ।

त्यसैगरी वडा नं ५ मा जाने सडक पृथ्वीराजमार्गअन्तर्गत पर्ने याम्पाबाट फराकिलो बनाई कालोपत्र गर्दै थुम्कासम्म पुगेकाले अबको केही दिनमा सम्पन्न हुने उनले बताए । बाँकी चार वडामध्ये केही वडामा पुगिसकेको र कुनैको अन्तिम चरणमा रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।

दुवै खुट्टा भाँच्चिएका सञ्चारकर्मीलाई सहयोग

दुवै खुट्टा भाँच्चिएर उपचारमा रहनुभएकी सञ्चारकर्मी सुनिता डोटेल भण्डारीलाई बिहीबार नेपाल प्रेस युनियनले आर्थिक सहयोग गरेको छ । युनियनद्वारा सञ्चारकर्मी सुनिताको उपचारका लागि आर्थिक सङ्कलन गरी जम्मा भएको रु ६२ हजार १२० बिहीबार बैंकमार्फत सहयोग गरेको हो ।

सुनिता घरको छतबाट खसरे दुवै खुट्टा भाँच्चिएर हाल काठमाडौँस्थित बिएण्डबी अस्पतालमा उपचारत रहेको र ठूलो रकम खर्च भएकाले चहराइरहेको घाउमा मल्हम लगाउने कार्य गरिएको नेपाल प्रेस युनियन तनहुँ शाखाका अध्यक्ष अमराज नहर्कीले जानकारी दिए ।

युनियनले बिहीबार नै एक प्रेस विज्ञप्ति जारी गरी सहयोग सङ्कलनका क्रममा रकम प्रदान गर्नुहुने सबैप्रति आभार प्रकट गरेको छ । साथै घाइते सञ्चारकर्मीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । युनियनमा आबद्ध सञ्चारकर्मीसँग रकम सङ्कलन गरेर हस्तान्तरण गरिएको युनियन तनहुँका सचिव प्रकाश अधिकारीले जानकारी दिए ।

त्यसैगरी नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले पनि सञ्चारकर्मी सुनिताको उपचारका लागि आर्थिक सङ्कलन गरिरहेको छ । महासङ्घले हालसम्म करिब रु ४० हजार सङ्कलन भइसकेको शाखाका अध्यक्ष उज्वल पौडेलले जानकारी दिए । सङ्कलन अभियान जारी रहेकाले सङ्कलित रकम छिट्टै हस्तान्तरण गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस