अमेरिकी इन्धन पाइपलाइनमा साइबर हमला, आपत्काल घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकी इन्धन पाइपलाइनमा साइबर हमला, आपत्काल घोषणा


२७ बैशाख २०७८, सोमबार


वासिङ्टन । अमेरिकी इन्धन पाइपलाइनमा साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको छ । जर्जियामा मुख्यालय रहेको कोलोनियल पाइपलाइनमा स्थानीय समयानुसार शुक्रबार र्‍यान्समवेय साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको हो ।

शुक्रबार साइबर हमलापछि आपूर्ति ठप्प भएको र सञ्चालन गर्ने प्रयास जारी रहेको अधिकारीहरुले बताएका छन् । कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति हुन्छ, जुन इष्ट कोस्ट राज्यमा खपत हुने इन्धनको ४५ प्रतिशत हो ।

सोमबार अमेरिकामा इन्धनको मूल्य २–३ प्रतिशतले बढ्ने विज्ञहरुको अनुमान छ । तर, समयमा पाइपलाइन सञ्चालन गर्न नसकिए इन्धनको मूल्यवृद्धि अझै बढ्न सक्छ । आपत्काल घोषणापछि अब इन्धन सडकमार्गबाट ढुवानी गर्न सकिने जनाइएको छ ।

सूत्रहरुका अनुसार उक्त साइबर हमला ‘डार्कसाइड’ नामक आपराधिक समूहले गरेको हो । कोलोनियलको नेटवर्कमा छिरेर १०० जीबी डेटामा पकड जमाएर फिरौती माग गरिएको छ । ह्याकरहरुले २० लाख अमेरिकी डलर फिरौती मागेका छन् । तोकेको समयमा रकम नदिए फिरौती रकम ४० लाख डलर पुग्ने उनीहरुले धम्की दिएका छन् ।

यो हमलाको एउटा कारण कोरोना महामारीलाई पनि मानिएको छ । महामारीपछि इन्जिनियरहरुले घरबाटै पाइपलाइनको नेटवर्कमा पहुँच पाएपछि ह्याकरहरुलाई पनि सहज भएको डिजिटल स्याडोजले जनाएको छ ।

डार्कसाइड त्यति ठूलो आपराधिक समूह नभए पनि यो घटनाले र्‍यान्समवेयका कारण महत्वपूर्ण औद्योगिक संरचनाहरु खतरामा परेको देखाएको छ । यो समूहले डाटा चोरी गरी फिरौती माग्ने र फिरौती नदिए डाटा सार्वजनिक गर्दै आएको छ । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस