गोरखा भूकम्पका ६ वर्ष : पुरातात्त्विक महत्त्वका ४९३ सम्पदा पुनः निर्माण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गोरखा भूकम्पका ६ वर्ष : पुरातात्त्विक महत्त्वका ४९३ सम्पदा पुनः निर्माण


२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । गोरखा भूकम्पको ६ वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्त्विक महत्त्वका ४९३ सम्पदाको पुनः निर्माण सम्पन्न भएको छ । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ ।

क्षतिग्रस्त २८८ सम्पदा पुनः निर्माणको चरणमा रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । यी सम्पदाको पुनः निर्माण चालु आर्थिक वर्षमै सुरु गर्ने तयारी छ । तीमध्ये केही सम्पदाको पुनः निर्माण सुरु भइसकेको छ ।

भूकम्पले विश्व सम्पदा क्षेत्रका १७०, काठमाडौँ उपत्यकाका तीन जिल्लाका ४०६ र उपत्यका बाहिरका २९ जिल्लाका ३४४ गरी ९२० सम्पदामा क्षति पुगेको थियो । हालसम्म विश्व सम्पदा क्षेत्रका ११०, काठमाडौँ उपत्यकाका तीन जिल्लाका २०७ र उपत्यका बाहिरका २९ जिल्लाका १७६ गरी ४९३ सम्पदाको पुनः निर्माण सम्पन्न भएको हो । चालू आवमा विश्व सम्पदा क्षेत्रका ४९, काठमाडौँ उपत्यकाका तीन जिल्लाका १११ र उपत्यका बाहिरका २९ जिल्लाका १२८ गरी २८८ सम्पदा पुनः निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ ।

भूकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहरालाई जस्ताको त्यस्तै राखी उस्तै आकार र प्रकारमा धरहरा टावर निर्माण सम्पन्न भई गत फागुन ११ गते उद्घाटन गरिएको छ । यसै गरी भूकम्पले क्षतिग्रस्त राजधानीको मुटुमा रहेको रानीपोखरी पनि गत वर्ष दशैँअघि नै निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ । काष्ठमण्डप पनि पुनः निर्माणको अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।

भूकम्पले भत्किएका सम्पदा अझ राम्रो र बलियो बनाऔँ भन्ने अवधारणाको अवलम्बन गरी पुनः निर्माण अघि बढेको प्राधिकरणले जनाएको छ । विपद् प्रतिरोधक हुने गरी स्थानीय आवश्यकताअनुरुप उपयुक्त प्रविधि अपनाई जीर्णोद्धार, प्रबलीकरण र पुनः निर्माण गरिएको सहप्रवक्ता घिमिरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस