बनेपा । नगरपालिकामा निरन्तर २५ वर्षसम्म सेवा प्रदान गर्ने ३० कर्मचारीलाई ‘बनेपा दीर्घसेवा’ सम्मानबाट सम्मानित गरिएको छ ।
बनेपा नगरपालिकाको ४०औँ स्थापना दिवसका अवसरमा शनिबार ३० कर्मचारीलाई ‘बनेपा दीर्घसेवा’ सम्मानबाट सम्मानित गरिएको हो ।
नगरपालिकालाई सहयोग गर्ने रोशी गाउँपालिका, विभिन्न सङ्घसंस्था र ज्येष्ठ नागरिक बनेपा–४ निवासी १०१ वर्षीय रामकृष्ण श्रेष्ठ तथा वडा नं ९ निवासी ९९ वर्षीय टुकमाई तिमल्सिनालाई पनि सम्मान गरिएको थियो ।
यस्तै उक्त अवसरमा नगरपालिकाका संस्थापक प्रमुख डा सुरेन्द्रबहादुर बादे श्रेष्ठ ‘बनेपा भाष्कर’ सम्मानद्वारा सम्मानित भएका छन् । इलाका प्रहरी कार्यालय बनेपाका तत्कालीन प्रमुख प्रहरी निरीक्षक (हाल प्रहरी नायब उपरीक्षक) भएका सुनिलजङ्ग शाह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती ‘बनेपा सेवा पदक’द्वारा सम्मानित भएका छन् ।
शाहले अरनिको राजमार्ग दायाँ÷बायाँ बनेका संरचना हटाउन ठूलो योगदान दिएको र उप्रेतीले कोरोना भाइरस रोगको रोकथाम र न्यूनीकरण गर्न पुर्याएको योगदानस्वरुप सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
साथै विकास निर्माणलगायत नगरले गरेका कामको विवरण समेटिएको ‘स्मारिका २०७७’ पुस्तक सार्वजनिक गरेको छ । नगरपालिकाले स्थापना दिवसका अवसरमा आयोजित र्यालीमा सहभागी विभिन्न समुदायका प्रतिनिधि तथा सङ्घसंस्थालाई समेत सम्मान गरेको थियो ।