भक्तपुर – भक्तपुरको श्रृजनानगरस्थित भीमेश्वर मःमः एण्ड चिकेन हाउसमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा परी घाइते भएका टिकाराम बस्नेतको निधन भएको छ।
आगलागीपछि कीर्तिपुरको बर्न सेन्टर अस्पतालमा उपचाररत बस्नेतको मृत्यु भएको प्रहरीले बताएको छ। ३९ वर्षका उनी दोलखा सैलुङका स्थानीय थिए। हाल उनी सूर्यविनायक नगरपालिका ४ दधिकोटमा बस्दै आएका थिए। चैतको ८ गते साँझ सवा ६ बजे मःमः पसलमा आगो लागेको थियो।
स्थानीय कृष्ण कसपालको घरको भुईँ तलामा रहेको मःमः पसलमा ग्यास सिलिण्डर पड्किएको थियो। दुर्घटनामा परी होटल सञ्चालक टीकाराम बस्नेत र उनका आफन्त राजेन्द्र कार्की, गीता कार्की यस्तै पसलका ग्राहक आदित्य सुवेदी, विकास पौडेल र हिमुन्स थापासमेत घाइते भएका थिए।
उनीहरुलाई इवामुरा अस्पताल, सल्लाघारी र मध्यपुर अस्पताल, ठीमिमा लगिएको थियो। घाइतेमध्ये तीनजनालाई कीर्तिपुरको वर्न सेन्टर अस्पतालमा रिफर गरिएको थियो।