काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक दिउँसो तीन बजे बोलाइएको छ ।
आजको बैठकमा संसदविघटनविरुद्ध आन्दोलनको विषय छलफलको मुख्य एजेण्डा रहेको बताइएको छ । बुधवार बसेको बैठकले १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको थियो । कांग्रेसले १४ औं महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौँमा गर्ने प्रस्ताव गरेको छ ।
बुधबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संसद विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए ।
तर सभापति शेरबहादुर देउवाले संसद विघटनको विषय सर्वोच्च अदालतमा भएकाले फैसला गर्न अदालतलाई दबाव पुग्ने खालको कुनै पनि गतिविधि गर्न नहुने धारणा राख्दै आएका छन् ।