काठमाडौँ । तारकेश्वर नगरपालिका–१ मा पालेका हाँसमा बुधबार बर्ड फ्लु देखिएको छ । शंकास्पद रूपमा कुखुरा मरेपछि परीक्षण गर्दा बुधबार बेलुका बर्ड फ्लु भएको पुष्टि विभागले जनाएको छ ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण हाँसको नमुना गरिएको थियो । परीक्षणको क्रममा बर्ड फ्लु प्रमाणित भएपछि रोग अन्यत्र फैलिन नदिई र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकाय परिचालन गरिएको विभागले जनाएको छ ।
रोग देखिएको क्षेत्रका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको विभागले बताएको छ । सो क्रममा १४ सय २१ वटा हाँस, ४२ वटा लोकल कुखुरा, २६ अन्डा र ८ सय किलो दाना नष्ट गरेको विभागले जनाएको छ ।
करीब दुई साताअघि पनि तारकेश्वर नगरपालिका–७ साङ्लेखोला फुटुङका किसानले पालेका टर्की र हाँसमा बर्ड फ्लु रोग पुष्टि भएको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइप पीसीआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएपछि त्यस क्षेत्रका १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अन्डा र ७५ किलो दाना नष्ट गरिएका थिए त्यसपछि बर्ड फ्लु नियन्त्रणमा रहेको दाबी गरेको दुई साता नबित्दै फेरि सोही क्षेत्रमा बर्ड फ्लु देखिएको हो ।