दाङ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश–१ ले जितेको छ। दाङको लमहीमा आइतबार भएको उपाधि भिडन्तमा प्रदेश १ ले एपीएफलाई ६ रनले हराउँदै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो ।
पहिले ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १०५ रन बनाएको थियो। प्रदेश १ का लागि अप्सरा बेगमले ३४, काजल श्रेष्ठले २९, कप्तान रुविना क्षेत्रीले १८ रन बनाएकी थिइन्।
बलिङतर्फ एपीएफकी सीता राना मगरले तीन र करुणा भण्डारीले एक विकेट लिएकी थिइन्।
१ सय ६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९९ रन मात्रै जोड्न सक्यो। उसका लागि ममता चौधरीले ३४, करुणा भण्डारीले २६ र ज्योति पाण्डेले १४ बनाएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
प्रदेश १ की कप्तान रुविना क्षेत्री र एलिसा खडियाले दुई-दुई विकेट लिए भने संगीता राईले एक विकेट लिइन्।
यससँगै प्रतियोगितको विजेता प्रदेश १ ले पाँच लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ पुरस्कार पाएको छ।