चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति


१६ पुस २०७७, बिहिबार


बेइजिङ । चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई ‘सःशर्त’ अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ ।

सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोना भाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोभिड विरुद्धको खोप आपतकालीन प्रयोग अन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ । खोप दिइएकाहरुमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

बुधबार मात्र सिनोफार्मले आफूले विकास गरेको खोप ७९ दशमलब ३४ प्रतिशत सफल रहेको घोषणा गरेको थियो । पश्चिमा मुलुकका फर्मास्यूटिकल कम्पनीहरु फाइजर र मोडर्नाले विकास गरेका खोपहरु क्रमशः ९५ र ९४ प्रतिशत सफल रहेको दाबी गरिएको थियो ।

चिनियाँ स्वास्थ्य प्रशासनका उप आयुक्त चेन सिफीले संवाददाताहरुसँग कुरा गर्दै सिनोफार्मको खोपलाई ‘सःशर्त’अनुमति दिइएको जानकारी दिए । अब सिनोफार्मले यो खोपलाई बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झेङ यिछिनले सिनोफार्मका खोपहरु वृद्धवृद्धा र अरु जोखिममा परेका नागरिकलाई निःशुल्क प्रदान गरिने जानकारी दिए ।

चीनका करिब १ अर्ब ३० करोड नागरिक सबैलाई खोप प्रदान गर्न अभूतपूर्व चुनौती छ । उपमन्त्री झेङले भन्नुभयो, “कोभिड–१९ बाट सुरक्षित रहन कूल जनसंख्याको ६० देखि ७० प्रतिशत व्यक्तिलाई खोप दिनुपर्ने हुन्छ, र हामी त्यसैको तयारीमा छौं ।”

बेइजिङले यसै वर्षको हिउँदसम्ममा लाखौं व्यक्तिलाई खोप दिइसक्ने योजना बनाएको छ । चीनमा आफ्ना नागरिकलाई जरुरी हुने खोप चीनमा उत्पादन हुने चीन सरकारको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस