काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ काठमाडौँ आएका छन् । उपमन्त्रीसहित चार सदस्यीय टोली आइतबार मध्यान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बुझ्न उत्तरी छिमेकी चीनका उच्च अधिकारीको टोली काठमाडौँ आइपुगेको बुझिएको छ ।
चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी दिइएको छैन । यद्यपि चिनियाँ प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ र नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने छ ।
नेता यचौ ०७४ फागुनमा पनि नेपाल आएका थिए । येचौको भ्रमण भएको तीन महिनापछि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो ।
नेकपा उच्च स्रोत भन्छ, ‘नेकपामा आएको फुटबारे चिनियाँ कम्युनिस्ट पार्टीले चिन्ता व्यक्त गरेको छ । त्यही चिन्तासहित उपमन्त्री येचौको नेपाल भ्रमण भएको हो ।’
यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेटेकी थिइन् । भेटहरुमा उनले पार्टीको विवाद र राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ भन्ने बढी चासो राखेकी थिइन् ।