फेरिए सामान्य प्रशासन मन्त्री : गए त्रिपाठी, आए ठगुन्ना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फेरिए सामान्य प्रशासन मन्त्री : गए त्रिपाठी, आए ठगुन्ना


प्रशासन विशेष ब्युरो

१० पुस २०७७, शुक्रबार


काठमाडौँ । मन्त्रीपरिषद् विस्तारका क्रममा फेराफेरीमा परेका ६ जना मन्त्रीमध्ये सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी पनि फेरिएका छन् । उनको ठाउँमा नयाँ थपिएका मन्त्री गणेशसिंह ठगुन्नालाई ल्याइएको छ ।

प्रतिनिधिसभा विघटन गरेको ६ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका क्रममा नौ जना मन्त्री थपेसँगै छ जना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन् ।

भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयबाट पर्यटनको जिम्मेवारीमा पठाइएको छ । महिला मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका लीलानाथ श्रेष्ठलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ भने कानुनबाट शिवमाया तुम्बाहाम्फेलाई भूमिसुधार मन्त्रालयमा सारिएको छ । पद्मा अर्याललाई भने भूमिसुधारबाट कृषि मन्त्रीको जिम्मेवारीमा सारिएको छ ।

नयाँ थपिएका मन्त्रीमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेम बहादुर आले मगर, गणेशसिंह ठगुन्ना, गौरीशङ्कर चौधरी, दावा लामा, जुलीकुमारी महतो, विमला विश्वकर्मा रहेका छन् ।

सम्बन्धित समाचार : ८ मन्त्री र १ राज्यमन्त्री थपिए, ६ मन्त्रीको जिम्मेवारी परिवर्तन

रायमाझीलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री, थापालाई खानेपानी मन्त्री, साहलाई सहरी विकास मन्त्री, ठगुन्नालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाइएको छ । लामालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, महतोलाई महिला तथा बालबालिका मन्त्रालय, आलेलाई वन तथा वातावरण मन्त्रालय, चौधरीलाई श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय, विश्वकर्मालाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । यसअघि उद्योग राज्यमन्त्री रहेका मोती दुगडलाई भने हटाइएको छ । त्यस्तै युवा तथा खेलकुद मन्त्री जगत् विश्वकर्मालाई पनि जिम्मेवारीबाट मुक्त गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस