ट्राफिक नियमविपरीत सवारी सञ्चालन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ट्राफिक नियमविपरीत सवारी सञ्चालन


९ पुस २०७७, बिहिबार


सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटबाहेक गाउँमा पुग्ने अधिकांश सवारीसाधन ट्राफिक नियमविपरीत सञ्चालन हुँदै आएका छन् ।

जिल्ला सदरमुकाम सिमकोटदेखि गाउँसम्म एक दर्जन गाडी सञ्चालन हुँदै आए पनि ती ट्राफिक नियमविपरीत गुडिरहेका छन् । सिमकोट बजारमा ट्राफिक प्रहरीले गाडीमा कति जना यात्रु बसेका छन् र सामान कति छ भन्ने जाँच गरे पनि सिमकोट गाउँपालिका- ६ को तिनधारा र वडा नं ५ को शिव मन्दिर कट्दाबित्तिकै ती गाडीले ओभरलोड मानिस र सामान राखेर गुड्ने गरेका छन् ।

जिल्लामा मार्ग इजाजत विना सञ्चालन भएको त यथावत नै छ तर व्यवस्थित तरिकाले भने गाडी सञ्चालन गर्नुपर्छ भन्ने चेतना गाडी चालक र मालिकमा नभएको पाइएको छ । पैसाको लोभले गर्दा हाल सिमकोट गाउँपालिका वडा नं ६ को तिनधाराबाटै जुनसुकै गाडीले ओभरलोड गरेर गाउँसम्म पुग्ने गरेको डाँडाफयाका मन्दिर सिंहले बताए ।

सिंहका अनुसार, ‘दिनरात सञ्चालन भइरहेका एक दर्जन गाडी, ट्र्याक्टरले क्षमताभन्दा बढी यात्रु र सामान बोकेर गाउँमा पुग्ने गरेका छन् ।’ हाल सिमकोटदेखि खार्पु, ठेहे र धारापोरीसम्म गाडी पुग्ने गरेका छन् । ट्राफिक प्रहरीले भने सबै ठाउँमा ट्राफिक नियम पालना गर्नका लागि जनशक्ति परिचालन हुनुपर्ने भए पनि ट्राफिक प्रहरीको सङ्ख्या कम भएकाले गाउँसम्म पुग्न नसकेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस