प्रदेश मन्त्रालयद्वारा बजेट रोक्का, ५० प्रतिशत भित्र रहेर काम गर्न निर्देशन ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश मन्त्रालयद्वारा बजेट रोक्का, ५० प्रतिशत भित्र रहेर काम गर्न निर्देशन !


७ पुस २०७७, मंगलबार


काठमाडौँ । प्रदेश नं. १ सरकार अन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मातहतका निर्देशनालय तथा कार्यालयहरूको ५० प्रतिशत रकम रोक्का गरेको छ ।

मन्त्रालयले दुई साता अघि मन्त्रालय अन्तर्गतका निकायहरूलाई पत्राचार गर्दै विनियोजित बजेटको ५० प्रतिशत भित्र रहेर काम गर्न निर्देशन दिएको भेटिएको हो ।

प्रशासनलाई प्राप्त पत्रमा ‘मन्त्रालयका लागि विनियोजित जम्मा बजेटको आधा रकममा रही रोक्का रहेको शीर्षकहरू नचलाई बाँकी बजेट कार्यान्वयनमा लैजाँदासमेत मन्त्रालय र मातहतका निकायहरूको अनिवार्य दायित्वको रकमसमेत अपुग हुने अवस्था रही पछि कर्मचारीको तलब भत्ता लगायतको अनिवार्य दायित्व रकम अपुग हुने अवस्था रहेकोले अनिवार्य दायित्वबाहेक कुनै पनि शीर्षकको कुनै रकम खर्च नगर्न नगराउन’ भनिएको छ ।

चालु खर्च नै धान्न गारो भएकोले आवश्यकबाहेकको खर्च नगर्न पत्राचार गरिएको मन्त्रालयका सचिव मेघनाथ काफ्लेले बताए । ‘स्रोतको अभाव देखिएकोले बर्सभरिको विनियोजित बजेटको ५० प्रतिशत भित्र बसेर मन्त्रालयको कार्यक्रम सञ्चालन गर्ने भनेको हो’, उनले प्रशासनसँग भने, ‘प्रदेश अर्थ मन्त्रालयको परिपत्र र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयअनुसार पत्राचार गरिएको हो,अहिलेलाई यति भनौँ ‘

Tags :
प्रतिक्रिया दिनुहोस