घुमुवा तस्करसित मिलेपछि मुख्यालयमा फिर्ता « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

घुमुवा तस्करसित मिलेपछि मुख्यालयमा फिर्ता


७ पुस २०७७, मंगलबार


वीरगन्ज । नेपाल-भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरणविपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता वाहिनी मुख्यालय प्रदेश नम्बर-२, महोत्तरीले उनीहरुलाई फिर्ता बोलाएको छ ।

प्रदेश-२ का आठ जिल्लामा ६२ जना सशस्त्रका घुमुवालाई सीमा क्षेत्रको निगरानी तथा तस्करी नियन्त्रणका लागि खटाइएकामा उनीहरुले तस्करहरुसँग मिलेर आचरणविपरीत काम गरेपछि उनीहरुलाई कारबाहीस्वरुप महोत्तरीको बर्दिवासस्थित मुख्यालयमा तानिएको छ ।

प्रदेश–२ का आठै जिल्लाका घुमुवाले प्रहरी आचरणविपरीत काम गरिरहेकाले उनीहरुलाई मुख्यालयमा तानिएको स्वीकार्दै प्रदेश नम्बर–२ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले भने, ‘ती घुमुवाहरुलाई तानेर उनीहरुलाई भिड नियन्त्रण कसरी गर्ने, आन्दोलनमा ढुंगामुढा भएपछि कसरी नियन्त्रण गर्नेजस्ता ‘रिय रेस’ भन्ने तालिम दिने गरेको छ ।’

ती घुमुवाले सीमानाकाबाट महिनावारी रकम लिएर तस्करी गराउने गरेको सूचनाका आधारमा उनीहरुलाई कारबाहीस्वरुप प्रदेश प्रहरी कार्यालयमा तानिएको भन्दै प्रहरी नायब महानिरीक्षक गौतमले आफू प्रहरी नायब महानिरीक्षक भएर प्रदेश–२ मा आएपछि घुमुवाले तस्करसँगको मिलेमतोमा तस्करी गराइरहेको उजुरी आइपुगेकाले कारबाहीस्वरुप उनीहरुलाई प्रदेश मुख्यालयमा तानिएको बताए ।

यसैबीच, सरुवा भएर प्रदेश नम्बर–२ मा आएका प्रहरी नायब महानिरीक्षक गौतमले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप चोरी–तस्करी नियन्त्रण गर्न तथा अपराध गरेर लुकेका अपराधीबारे सूचना दिन भारतीय समकक्षीहरुसँग समन्वय गरेको, सशस्त्र प्रहरीको पोष्टमा आफैँ गस्ती गर्ने, दिनरात पेट्रोलियम गस्ती बढाइएको तथा आचरणविपरीत काम गर्ने घुमुवा तथा सशस्त्र प्रहरीलाई निरुत्साहित गर्ने काम भइरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस