दूध बिक्न छाडेपछि इलामका किसान समस्यामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दूध बिक्न छाडेपछि इलामका किसान समस्यामा


१ पुस २०७७, बुधबार


इलाम । इलामका किसानले उत्पादन गरेको दूध बिक्न छाडेपछि किसान चिन्तित भएका छन् । विराटनगरस्थित दुग्ध वितरण आयोजनामा केमिकल सकिएकाले दूध बन्द गरेपछि किसान चिन्तित भएका हुन् ।

आयोजनाको पाउडर प्लान्ट बन्द भएपछि इलामबाट दूध निकासी बन्द भएको छ । गत मङ्सिर २५ गतेदेखि दूध बिक्री बन्द भएपछि इलामका किसानले उत्पादन गरेको दूग्ध खेर जाने स्थितिमा पुगेको छ । कतिपय किसानले निजी डेरीमा दूग्ध बेच्न थालेका छन् भने कतिपयले घरमै बिग्रिएको बताउन थालेका छन् ।

विभिन्न दुग्घ उत्पादक सहकारीमार्फत सङ्कलन भएको दूध चिस्यान केन्द्र हुँदै विराटनगर दुग्घ वितरण आयोजनामा पुग्ने गरेको थियो । आयोजनाको पाउडर प्लान्टमा चाहिने रसायन नभएपछि गत मङ्सिर २५ गतेदेखि इलामबाट विराटनगर दूग्ध निकासी बन्द भएको हो । दूध बिक्री बन्द हुँदा इलामका किसान मारमा परेका छन् ।

दूध किसान धातृप्रसाद निरौलाले दैनिकी आम्दानीका रुपमा बिक्री हुँदै आएको दूध बिक्न छोडेपछि समस्या आएको बताए । उनले यस्तो समस्या तत्काल नहटे आफूहरुले उत्पादन गरेको दूध खेर जाने बताए । पाउडर प्लान्टमा चाहिने रसायन भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताइएको छ । विराटनगर दुग्घ वितरण आयोजनाले भारतबाट ल्याउँदै गरेको रसायन ल्याउन नसक्दा यहाँका किसानले दूध बेच्न नपाएका हुन् ।

रसायन आउनासाथ सम्पूर्ण सङ्कलन केन्द्रबाट दूध लिन शुरु गरिने आयोजनाले जानकारी दिएको छ । आयोजनाले दूध पाउडर उत्पादनका साथै दैनिक उपभोक्तालाई दूध बिक्रीसमेत गर्दै आएको चिस्यान केन्द्र इलामका प्रमुख नन्दकुमार कोइरालाले बताए ।

इलामका विभिन्न दुग्घ उत्पादक सहकारीमार्फत सङ्कलन भई दैनिक १६ हजार लिटर दूध विराटनगर निकासी हुने गरेको छ । इलाम बाहेक पाँचथर, झापा, सुनसरी, धनकुटा जिल्लाबाट समेत दूध सङ्कलन हुने गरेकामा हाल बन्द भएको छ । तत्काल रसायन ल्याएर समस्या समाधानमा लाग्नुपर्ने किसानको माग छ । किसानले दैनिक उत्पादन गर्ने वस्तु बिक्री गर्न नपाउँदा समस्या आएको भन्दै स्थानीय र प्रदेश सरकारले पहल गरेर भए पनि समस्या समाधान गर्न माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस