स्थानीय तहको भूमिकामा देशको राजनीतिक प्रणाली अडिएको छ : मन्त्री त्रिपाठी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

स्थानीय तहको भूमिकामा देशको राजनीतिक प्रणाली अडिएको छ : मन्त्री त्रिपाठी


२९ मंसिर २०७७, सोमबार


काठमाडौँ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर रहेको बताएका छन् ।

काठमाडौँ महानगरपालिकाको २६ औँ महानगर दिवस मनाउन आयोजित कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले स्थानीय तहको भूमिकामा देशको राजनीतिक प्रणाली अडिएको बताएका हुन् । स्थानीय तहको कामकारबाहीमा अहिलेको व्यवस्थालाई सफल बनाउने अथवा औचित्यहिन बनाउने भन्ने निर्भर रहेको पनि मन्त्री त्रिपाठीले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र कसैको निगाहमा अथवा चन्दा पुस्कारमा प्राप्त नभएकाले कसैलेपनि समाप्त पार्न नसक्ने दाबी समेत उनको छ । कोभिडको समयमा स्थानीय तहले गरेको कामकारबाहीबाट नै संघीयता आवश्यक छ भन्ने पुष्टि भइसकेको पनि मन्त्री त्रिपाठीले बताए । यस्तै, संविधानले स्थानीय तहलाई असाधारण अधिकार दिएको पनि बताए । संविधानले स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार दिएको भएर नै स्थानीयत तहले असाधारण काम गर्नुपर्ने बताए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिका सिंगो देशबासीको भएको बताए । त्यसैले काठमाडौँको विकासमा सबैको चासो रहेको मेयर शाक्यले बताए । काठमाडौँमा स्थायी बासिन्दा भन्दा अस्थायी बासिन्दा धेरै भएकाले काठमाडौँलाई सफा, स्वच्छ, हराभरा, धुलो मुक्त र हिलो मुक्त बनाउन सबैको साथ आवश्यक रहेको पनि मेयर शाक्यले बताए ।

महानगरपालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष सोमबारकै दिन महानगर दिवस मनाउँदै आएको छ । महानगरपालिकाले कोभिड-१९ संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस