लागोस । बन्दूकधारी एक समूहले नाइजेरियाको एक माध्यमिक विद्यालयमा आक्रमण गरेको नाइजेरियाको प्रहरीले जानकारी गराएको छ ।
उक्त समूहले आक्रमण गरेपछि विद्यालयमा रहेको सयौँ विद्यार्थी भागेर जीवन रक्षा गरेका बताइएको छ भने केहीलाई अपहरण गरी लगेको आशङ्का अधिकारीहरूले गरेका स्थानीय नागरिकले बताएका छन् ।
मोटरसाइकलमा आएको सशस्त्र समूहले विज्ञान विषयको पढाइ हुने एक सरकारी विद्यालयमा स्थानीय समय अनुसार साँझ आक्रमण गरेका थिए ।
प्रहरी प्रवक्ता इशा ग्याम्बोका अनुसार –‘सशस्त्र लुटेराको उक्त समूह रातिमा विद्यालयमा पसी विद्यार्थीलाई अपहरण गर्न खोजेको तर सेनाको सहयोगमा सुरक्षाकर्मीले करिब डेढघण्टा लामो प्रतिकार गरेपछि फर्किएको थियो ।’
प्रहरीले घटनामा के कति क्षति भयो भन्नेबारे केही बताएको छैन । प्रहरीका अनुसार कोही विद्यार्थीलाई अपहरण गरी लगेको वा नलगेको भन्ने विषयमा खोजी कार्य भइरहेको छ । अहिलेसम्म आक्रमणपछि भागेका करिब २०० आवासीय विद्यार्थी विद्यालयको सम्पर्कमा आइसकेका छन् ।
आक्रमणकारीले केही विद्यार्थीलाई अपहरण गरी लगेका छन् तर सङ्ख्या भने एकीन नभएको स्थानीय प्रत्यक्षदर्शीले उल्लेख गरेका छन् । स्थानीय सञ्चारमाध्यमले पनि केही विद्यार्थीहरू अपहरणमा परेको बताएका छन् ।