भारतले दाबी गरेको बासमती चामलविरुद्ध नेपालले उजुरी हाल्ने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

भारतले दाबी गरेको बासमती चामलविरुद्ध नेपालले उजुरी हाल्ने


२३ मंसिर २०७७, मंगलबार


काठमाडौँ । नेपालले बासमती धान/चामलमा आफ्नो दाबी गर्ने निर्णय गरेको छ ।

भारतले बासमती धान/चामलमाथि एकाधिकार माग गर्दै युरोपियन युनियन(इयू) मा आवेदन दिएसँगै नेपालले आफ्नो दाबी पठाउने निर्णय गरेको हो ।

‘कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवको संयुक्त बैठकले भारतले दाबी गरेको बासमती चामलविरुद्ध नेपालले उजुरी गर्ने निर्णय गरेको छ’, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले प्रशासनलाई भन्यो, ‘कृषि मन्त्रालय अन्तर्गत कृषि अनुसन्धान परिषद्(नार्क)मार्फत गर्ने निर्णय भएको छ ।’

भारतले आफ्नो क्षेत्रमा मात्र बासमती धानको उत्पादन हुने जनाउँदै यसमाथिको एकाधिकार आफ्नो रहने दाबीसहित युरोपियन युनियन(ईयू)मा भौगोलिक सङ्केत(जिओग्राफिकल इन्डिकेटर) दर्ता गराएको थियो । सो लगत्तै नेपालमा पनि यस विरुद्ध उजुरी हाल्नुपर्ने बहस उठेको थियो । नेपालमा पनि सदियौँदेखि बासमती धान/चामलको उत्पादन हुँदै आएको र केही वर्ष पहिलेसम्म चामल नै निर्यात भएकाले बासमतीमा भारतीय एकाधिकारको दाबीविरुद्ध उजुरी हाल्नुपर्ने बहससँगै सरकारले यसबारे चासो लिएको हो ।

ईयूले ११ सेप्टेम्बर २०२० मा आधिकारिक जर्नलमार्फत बासमती चामलमा भारतको आवेदन परेको जानकारी दिएको थियो। उक्त जर्नलअनुसार भारतको उक्त दाबीविरुद्ध तीन महिनाभित्र अर्थात् यही वर्षको चैत ११ गतेसम्ममा उजुरी गर्नुपर्ने छ र, उक्त अवधिसम्म नेपालले भारतको दाबीविरुद्ध उजुरी नदिए भारतले ईयूबाट बासमती चामलको भौगोलिक सङ्केत पाउने छ ।

भारतलाई उक्त प्रमाणपत्र प्राप्त भएको अवस्थामा भारतबाहेकका अन्य देशले बासमती चामल उत्पादन गरे पनि उक्त नाम प्रयोग गर्न पाउने छैनन् भने बासमती चामलको नाममा अन्य मुलुकमा निर्यात गर्न मात्र नभई आफ्नै देशमा पनि उक्त ब्रान्डबाट चामल बिक्री वितरण गर्दा भारतले चाहेको अवस्थामा कानुनी कारबाही गर्न सक्नेछ ।

भारतको दावीबिरुद्ध पाकिस्तानले पहिल्यै उजरी गरीसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस