राष्ट्रसंघले गाँजालाई खतरनाक लागूपदार्थको सूचीबाट हटायो, प्रस्तावको पक्षमा नेपाल पनि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रसंघले गाँजालाई खतरनाक लागूपदार्थको सूचीबाट हटायो, प्रस्तावको पक्षमा नेपाल पनि


एजेन्सी

२१ मंसिर २०७७, आइतबार


काठमाडौँ । राष्ट्रसंघीय नियोगले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको छ। नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । विश्व स्वास्थ्य संगठनले गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउन सिफारिस गरेपछि राष्ट्रसंघले प्रस्ताव पारित गरेको हो । अब गाँजालाई औषधिजन्य वनस्पतिका रूपमा स्वीकार गरिएको छ।

बुधबार लागुऔषधसम्बन्धी राष्ट्रसंघीय नियोगले बहुमतका आधारमा प्रस्ताव पारित गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ। भियनामा सम्पन्न नियोगको वार्षिक सम्मेलनमा गाँजाजन्य वस्तुलाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावमा २७ देशले समर्थन जनाएका थिए । त्यसको विपक्षमा २५ देशले मतदान गरेका थिए ।

प्रस्तावको पक्षमा मतदान गरेका देशमध्ये नेपाल पनि रहेको म्यारूवाना बिजनेस डेलीले लेखेको छ। अन्य पक्षराष्ट्रमा अमेरिका, बेलायत, दक्षिण अफ्रिका, क्यानडा, अस्ट्रेलिया, फ्रान्स, इटाली, जर्मनी, भारत लगायत छन्।
जापान, इराक, ब्राजिल, चीन, रूस, पाकिस्तान लगायतले भने विपक्षमा मतदान गरेका थिए। युक्रेन मतदानमा अनुपस्थित रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

राष्ट्रसंघको ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ अनुसार गाँजालाई खतरनाक लागुपदार्थको सूचीमा राखिएको थियो। पछिल्लो निर्णयअनुसार अब यसलाई औषधिजन्य गुण भएको र कम खतरनाक लागुपदार्थको सूचीमा वर्गीकरण गरिएको छ।

इन्टरनेसनल ड्रग पोलिसी कन्सोर्टियमका कार्यकारी निर्देशक आन फोर्डामले भने वर्गीकरण हेरफेरले मात्र गाँजाबारे फैलाइएको गलत हल्लामा परिवर्तन नआउने बताएका छन्। ‘यो निर्णयले तत्काल गाँजा खुला गर्न सम्भव नहोला। तर, राष्ट्रस‌ंघको निर्णय कुरेर बसेका धेरै देशलाई अब गाँजाको औषधीय गुण स्वीकार गर्न र यसलाई औषधिका रूपमा प्रयोग गर्न सहज हुनेछ,’ वउनले भने ।

पछिल्लो समय विभिन्न वैज्ञानिक अनुसन्धानले गाँजा औषधिका रूपमा प्रयोग गर्न सकिने तथ्य पुष्टि गरेका छन्। गाँजा सेवनलाई कानुनी मान्यता दिने पहिलो देश उरुग्वे हो।

Tags :
प्रतिक्रिया दिनुहोस