काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड लागू गरेर सकेसम्म विद्यार्थीलाई क्याम्पसमै उपस्थित गराएर कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।
नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिन क्याम्पस रहेको स्थानीय तहसँग समन्वय गरी पठनपाठन सुचारू गर्न त्रिवि रजिष्ट्रारको कार्यालयले आग्रह गरेको हो।
‘त्रिवि अन्तर्गत सबै क्याम्पस, विभाग ररूले स्थानीय तहले तोकेको समय सीमा र मापदण्डभित्र रहने गरी स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थिति गराइ नियमित कक्षा सञ्चालनको व्यवस्था गर्नुपर्छ,’ त्रिवि रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले निकालेको सूचनामा उल्लेख छ।
त्रिवि कार्यकारी परिषदले सम्भव भएसम्म विद्यार्थीलाई क्याम्पसमै उपस्थित गराएर कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। यदी भौतिक रूपमा विद्यार्थी उपस्थित गराउन सम्भव नदेखिएमा वैकल्पिक विधिको प्रयोग गरी नियमित कक्षा सञ्चालन गर्न पनि क्याम्पसहरूलाई त्रिविले निर्देशन दिएको छ।
यस्तै त्रिविले भौतिक रूपमा नै विद्यार्थी उपस्थित गराएर परीक्षाहरू सञ्चालन गर्न थालेको छ। अधिकांश संकायका परीक्षा मंसिर मसान्तदेखि सुरू हुनेछ।