नक्कली नोट बनाएको आरोपमा तीन पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नक्कली नोट बनाएको आरोपमा तीन पक्राउ


१५ मंसिर २०७७, सोमबार


पक्राउ

महेन्द्रनगर । नेपाली एक हजारका नक्कली नोट बनाएर बजारमा सामान खरिद गरेका अभियोगमा दुई भारतीयसहित एक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नक्कली नोट, एक थान ल्यापटप, प्रिन्ट गर्ने मेसिनसहित कागजात र अभियुक्तहरुलाई सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा भारतको बरेलीका अनुज शर्मा र उनकी श्रीमती रितिका बम तथा भीमदत्त नगरपालिका-१८ बस्ने दीपक नाथ रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए । ‘अभियुक्तहरुले ग्रामीण भेग, वृद्ध तथा बालबालिकाहरु रहेको पसलमा गई नक्कली नोटले सामान खरिद गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, प्रहरी उपरीक्षक मरासिनीले भने, ‘भारतीय नागरिक शर्मा र बम (श्रीमान्-श्रीमती) यहाँ डेरा गरी उक्त अवैध गतिविधिमा संलग्न रहँदै आएको देखिएको छ ।’

त्यसैगरी प्रहरीले बेदकोट नगरपालिका–५ पोलखरीमा गत कात्तिक १९ गते पुष्करसिंह बोहराको घरमा सिआइबीका प्रहरी भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने गिरोहका फरार अभियुक्त शुक्लाफाँटा नगरपालिका-५ का २६ वर्षीय रवीन्द्र साउदलाई पक्राउ गरेको छ । फरार रहेका साउदलाई प्रहरी टोलीले यहाँको बेलौरी नगरपालिका-८ पचुईबाट पक्राउ गरेको हो । सो घटनाका तीनजना अभियुक्तलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस