छठको सांस्कृतिक विस्तारले मुलुकलाई एकताबद्ध बनाएको छ : मन्त्री भट्टराई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

छठको सांस्कृतिक विस्तारले मुलुकलाई एकताबद्ध बनाएको छ : मन्त्री भट्टराई


४ मंसिर २०७७, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सूर्योपासनाको पर्व छठ प्रकृति र सभ्यताको अनुपम उदाहरण भएको बताएका छन् ।

छठका अवसरमा आज शुभकामना व्यक्त गर्दै मन्त्री भट्टराईले मानव अस्तित्वसँग जोडिएको ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यको आराधना गरेर मनाइने छठको प्रयोगात्मक रुपमा वैज्ञानिक महत्व भएको उल्लेख गरेका छन् ।

मन्त्री भट्टराईले शुभकामना सन्देशमा भनेका छन्,’छठ पर्व एउटा समुदाय, एउटा भूगोलविशेषमा मात्र सीमित छैन, विगतमा मुख्य रुपमा तराई-मधेशमा मनाइने छठ पर्व अहिले काठमाडौँ उपत्यकालगायत मुलुकका अन्य भूभागमा पनि धुमधामसँग मनाउन थालिएको कारण हाम्रो मौलिक संस्कृतिको आयतन फराकिलो बनेको छ । जातीय, धार्मिक र साम्प्रदायिक विविधता भएको हाम्रो जस्तो मुलुकमा सांस्कृतिक आयतन जति फराकिलो बन्दै जान्छ, त्यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहार्दतालाई पनि प्रगाढ र सुमधुर बनाउने छ’ ।

मन्त्री भट्टराईले पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको उल्लेख गदै यो एकताले निश्चय नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को महाभियानलाई सफल बनाउन ठूलो टेवा मिल्ने विश्वास व्यक्त गरे । उनले सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताको धरोहर छठले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता, मेलमिलाप र मुलुकको समृद्धिका लागि गोलबद्ध हुन थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री भट्टराईले सूर्यको उपासना गर्दै मनाइने छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस