काठमाडौँ । गण्डकी प्रदेश अन्तर्गत पोखरास्थित विभिन्न अस्पतालमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक/एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार कोरोना संक्रमणका कारण गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका-१७ की ७५ वर्षीया कोरोना संक्रमित वृद्धाको बिहीबार बिहान ३ः४५ बजे मृत्यु भएको हो । उनमा २४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निमोनिया, मधुमेह तथा हाइपरटेन्सनसम्बन्धी रोगबाट पनि ग्रसित थिइन् ।
फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा पोखरा महानगरपालिका-९ की ८३ वर्षीया वृद्धाको बिहीबार बिहान ७ः३० बजे मृत्यु भएको डा. शर्माले बताए । उनीमा २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासकासाथै निमोनिया र हाइपरटेन्सनसम्बन्धी रोगबाट पनि उनी ग्रसित थिइन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बागलुङको बेशीसहर नगरपालिका-५ का ७१ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा बुधबार राति ६ः४५ बजे मृत्यु भएको डा. शर्माले बताए । निमोनिया र एक्युट हेपाटाइटिस लगायतका समस्याबाट ग्रसित उनीमा २८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।