मेरो राजनीतिक जीवन नै सिद्ध्याउने गरी ल्याइएको आरोपपत्र पूर्णरूपमा अस्वीकार गर्छु : प्रधानमन्त्री ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मेरो राजनीतिक जीवन नै सिद्ध्याउने गरी ल्याइएको आरोपपत्र पूर्णरूपमा अस्वीकार गर्छु : प्रधानमन्त्री ओली


४ मंसिर २०७७, बिहिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक यात्रा सिद्ध्याउने गरी ल्याइएको आरोपपत्र अस्वीकार गरेको बताएका छन् । बुधवार बसेको सचिवालय बैठक सम्बोधनका क्रममा उनले यस अघिको बैठकमा पेश गरिएको आरोप पत्र पूर्णरुपमा अस्वीकार गरेको बताएका हुन् ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक दस्ताबेज उनले पूर्णरुपमा अस्वीकार गरेको बताए । उनले उक्त पत्रमा आफूमाथि लगाइएका लाञ्छना, आरोप, अभियोग, तिरस्कार तथा अपमानहरू सबैलाई खारेज गरेको बताएका छन् ।

‘म के भन्न चाहन्छु भने, मिलेर मात्रै पार्टी बचाउन सकिन्छ । लडेर पार्टी बच्दैन, जालझेल र तिकड्म गरेर पार्टी बच्दैन । गुटबन्दी गरेर पार्टी बच्दैन । सबै कुराहरूमा पछि छलफल गरौँला । आजचाहिँ म त्यो लाञ्छनापत्र, जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोपहरू, अभियोगहरू, लाञ्छनाहरू, तिरस्कारहरू, अपमानहरू सबैलाई खारेज गर्छु’ उनले सम्बोधनका क्रममा भने,‘र, यो मेरो राजनीतिक जीवन नै सिद्ध्याउने गरी ल्याइएको आरोपपत्रलाई म पूर्ण रूपमा अस्वीकार गर्छु, त्यसको यथोचित जवाफ म लिखित रूपमा नै प्रस्तुत गर्नेछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस