सवाल नारी अस्मिताको « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सवाल नारी अस्मिताको


२९ कार्तिक २०७७, शनिबार


कसरी लेखौँ स्वाभिमानको गीत,
कसरी लगाऊँ नारी उन्मुक्तिको नारा,
कसरी बुलन्द बनाऊँ आवाजहरू,
फितला हुँदैछन अभिमानहरू,
शिथिल बन्दछन् स्वरहरू,

जब,
दिन दहाडै अस्मिता लुटिन्छ,
अबोध बालिकाहरू बलात्कृत हुन्छन्,
सुन्दर फूलहरू फक्रिन नपाउँदै चिमोटिन्छन्,
गरिबी, अशिक्षा, रोग, भोक र अनेक बहानाहरूमा,
आफन्तबाटै बेचिन्छन्, लुटिन्छन्,
हिजोआज र हरक्षण यहाँ अबलाहरू ।

कसरी मजबुत बनाऊँ आत्मविश्वासलाई,
कसरी निस्कनु सँघार भन्दा बाहिर,
गौँडाहरूमा निम्छरो कुरेर ड्वाकिरहन्छन्
हिंस्रक मानवरूपी दानवहरू,
उसको मानवोचित अधिकारमा कुठाराघात गर्न,
अस्मिता लुट्न,
कोमल शरीरमाथि हुल्ली खेल्न ।

खै म कसरी कोरूँ स्वतन्त्रताको गीत,
हरेक पाइलामा चुनौतीहरू छन्,
जित्न खोज्दा खोज्दै हराइन्छ,
बाँच्न खोज्दाखोज्दै एसिडले जलाइन्छ,
खै कसरी साबित गरौँ सामर्थ्यलाई,
प्रतिकार गर्न खोज्दा खोज्दै ढलाइन्छ ।

खै कहाँ सुरक्षित छ नारी,
कहाँ छ निश्चिन्त सुस्ताउने चौतारी,
खै कहाँ पाउँछे उ निर्धक्क निदाउन,
खै कहाँ छ स्वतन्त्रता फुलाउने ठाउँ,
खै कहाँ होला अस्मिता बचाउने गाउँ,
घर, स्कुल, मन्दिर, कार्यस्थल वा कहाँ ?

जब एक्लै डटेर हिँड्न स्वायत्त छैन भने,
छोरी भएर जन्मने, हुर्कने र फक्रिने,
स्वतन्त्रता छैन भने,
खै म के अपेक्षा गरौँ सार्वभौम नागरिक बनेर,
जब कि समाजले छोरीमा भविष्य देख्न सक्दैन भने ।

तसर्थ,
असभ्य, कुरूप व्यवहार र दृष्टिकोण सुधारिनुपर्छ,
नारी स्वतन्त्रताको परिभाषा अब बदलिनै पर्छ ।

धन्यवाद ।

Tags :
प्रतिक्रिया दिनुहोस