गोरखा । कोरोना महामारी न्यूनिकरण गर्न भन्दै गोरखा नगरपालिका कार्यालयले पालिका मातहतका अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द गरेको छ।
आइतबार सूचना जारी गरी प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले कात्तिक २४ गतेदेखि २८ गतेसम्म नगरपालिका कार्यालय र वडा कार्यालयको सार्वजनिक सेवा बन्द रहने जानकारी गराएका छन् ।
साथै सामुदायिक तथा निजी विद्यालय भने मंसीर ६ गतेसम्मका लागि बन्द गरेको सूचनामा उल्लेख छ।
‘नगरपालिका कार्यालय र १४ वटै वडा कार्यालयमा काम गर्ने कर्मचारीलाई रुघाखोकी, ज्वरो समेत आएको र केही कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले सेवा बन्द गर्नु परेको हो’, प्रमुख प्रशासकीय अधिकृत पन्तले भने, ‘यी पाँचदिनको अवधिभर अत्यावश्यक बाहेकका सेवा बन्द रहन्छ।’
केही विद्यालयका शिक्षकहरुमा कोरोना पोजिटिभ देखिएको, कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले सोही सूचनामार्फत नगरपालिका भित्रका सबै विद्यालयको पढाइ बन्द गर्न नगरपालिकाले निर्देशन गरेको छ।