विजया दशमीको सन्देश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विजया दशमीको सन्देश


१० कार्तिक २०७७, सोमबार


विजया दशमीको महत्त्व हिजो जति थियो आज पनि उत्तिकै छ । पौराणिक कालमा कालीले महिषासुर वध गरेको वा रावणलाई रामले वध गरेको किम्बदन्ती र प्रसङ्गलाई आधार मानी विजया दशमीको पर्व मनाउने गरेको मान्यता र संस्कार हामीलाई हाम्रा पुर्खाले सिकाए । त्यसैलाई पछ्याउँदै हामी हरेक वर्ष दसैँ पर्व मनाउँद‌ै आई रहेका छौँ । यद्यपि हाम्रो पुस्तासम्म आई पुग्दा यसको स्वरूपमा धेरै परिवर्तन आई सकेको छ ।

कुनै पनि जात्रा पर्वहरूको आफ्नै विशेषता र सांस्कृतिक महत्त्व रहेको हुन्छ । त्यसलाई बुझेर र आत्मसात् गरेर ती पर्व मनाउन सके मात्र पर्व मनाउनुको सार्थकता रहन्छ । हरेक चाडपर्वले बेग्लै सन्देश बोकेको र मानवीय सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको हुन्छ । त्यसलाई बुझ्ने प्रयत्न अहिलेको पुस्ताले गर्न सकेको छैन ।

रावण र महिषासुर कुनै अमुक व्यक्ति नभई पात्र र प्रवृत्ति हो । रावण र महिषासुर असत्य, अन्याय, अत्याचारी, भ्रष्टाचारी, हत्यारा, बलात्कारी र ज्यानमारा प्रवृत्तिको सांस्कृतिक प्रतीक र बिम्ब हो । आजको समाजमा दिन प्रतिदिन रावणीय र दानवीय प्रवृत्ति बढ्दै गएको छ । रावणहरूको सङ्ख्या बढ्दै छ भने राम प्रवृत्तिका मान्छेहरूको सङ्ख्या कम छ ।

आजका सीताहरू दिनदिनै रावणहरूबाट बलात्कृत भइरहेका छन्, दलालहरूको चङ्गुलमा परेर कोठीमा बेचिन बाध्य छन् । कतिपय बलात्कार र हत्या काण्डका अपराधीहरूलाई अझै पनि सजायको भागिदार बनाउन सकिएको छैन । यहाँ पैसा र राजनीतिक शक्तिको प्रयोग गरी न्यायको किनबेच गरिन्छ । पीडितले न्याय नपाई पिडामा बाँच्नु परेको छ भने अपराधी दानवीय हाँसो हाँस्दै अट्टहास गर्दै छन् । यो दानवीय प्रवृत्तिको अन्त्य गर्नुपर्छ भन्ने सन्देश विजया दशमी पर्वले दिएको छ । यसका लागि श्रीराम र कालीको उदय हुनु जरुरी छ र त्यो भनेको कुनै व्यक्ति नभई मृत्युदण्ड सहितको कडा कानुनी व्यवस्था हो ।

मानिस जतिसुकै धनी, विद्वान र शक्तिशाली किन नहोस् यदि उसको सोच, व्यवहार र आचरण गलत भएमा उसको पतन अवस्यम्भवी छ भन्ने सन्देश पनि दसैँ पर्वले दिएको छ । रावण त्यस बेलाका सबैभन्दा धनी, सुनै सुनले भरिपूर्ण साम्राज्यका राजा, विभिन्न विषयका ज्ञाता, लेखक, पुष्पक विमान लगायत विभिन्न यन्त्र र प्रविधिका आविष्कारक वैज्ञानिक, तपस्वी र साधक थिए । तर सीता प्रतिको कुदृष्टि र उनलाई पाउन गरेको दुष्प्रयासको कारण हजारौँ गुणले सुसज्जित हुँदा पनि एउटा अवगुणको कारण अन्त्यमा मृत्युवरण गर्न पुगे । यो सन्देशलाई बुझ्न जरुरी छ ।

हरेक कालखण्डमा मानव विरुद्ध विभिन्न स्वरूपमा यस्ता आसुरी प्रवृत्तिहरूको पुनरावृत्ति भइरहेको हुन्छ । यस विरुद्ध मानवले आफ्ना बुद्धिमत्ता र सहिष्णुताले त्यसलाई पराजित गर्दै आफ्नो अस्तित्व जोगाउँदै आएको छ । अहिले विश्व जगतले भोगिरहेको कोरोना महामारीलाई पनि यसैसँग जोडेर हेर्न सकिन्छ ।

कोरोना भाइरस अहिले दानवको रूपमा मानव विरुद्ध आक्रमण गर्दै छ । त्यसलाई मार्ने अस्त्र अहिलेसम्म हाम्रो हातमा छैन तर त्यसको आक्रमण र प्रहारबाट जोगिँदै त्यसलाई परास्त गर्न भने अवश्य सकिन्छ । त्यसको लागि मानवले ठुलो धैर्यता, त्याग र अनुशासन देखाउन जरुरी छ ।

सबै मानिसले कोरोना विरुद्धको सबै सुरक्षाका उपायहरू अवलम्बन गरी यसको प्रहारलाई निस्तेज पार्न सके छिट्टै नै हामी दानवरूपी कोरोनालाई परास्त गर्न सक्षम हुनेछौँ । २०७७ सालको विजया दशमीले मानव जातिलाई यही शक्ति प्रदान गरून् ।

शुभकामना छ सबैलाई !

Tags :
प्रतिक्रिया दिनुहोस