चोकको नाम राख्ने विषयमा दुई पक्षबीच विवाद हुँदा १० घाइते, प्रहरीले चलायो गोली « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चोकको नाम राख्ने विषयमा दुई पक्षबीच विवाद हुँदा १० घाइते, प्रहरीले चलायो गोली


९ कार्तिक २०७७, आइतबार


गोली काण्ड

रौतहट । रौतहटमा एउटा चोकको नाम राख्ने विषयमा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले गोली चलाएको छ।

गुजरा नगरपालिकाको परसवा चोकको नामको विषयमा परसवा र मनहरवाका बासिन्दाबीच विवाद हुँदा झडपमा दुवैतर्फका गरी १० जनाभन्दा बढी स्थानीयवासी सामान्य घाइते भएका छन्।

करीब एक दशकदेखि चोकको नाम परसवा रहेको भए पनि हरेक वर्ष दशैंको समयमा विवाद हुँदै आएकोमा आइतबार झडपकै स्थिति सिर्जना भएको थियो। स्थिति तनावग्रस्त भएपछि प्रहरीले एक सेल अश्रुग्यास प्रहार गर्नुका साथै एक राउन्ड हवाई फायर गरेको छ ।

गुजरा नपाको वडा नम्बर १ र ७ को बीचमा रहेको चोकको विस्तार हुँदै जाँदा नामको विषयमा विवाद बढ्दै गएको छ। परसवा टोलका बासिन्दाले चोकको नाम परसवा र मनहरवा टोलवासीले मनहरवा राख्नुपर्ने अडान राख्दै आएका छन्।

चोकमा खोलिएका पसलहरुको होर्डिङ बोर्डमा मनहरवा लेख्ने कि परसवा लेख्ने भन्ने विवाद छ। चोकको नामको लागि केही दिन अघि परसवा चोक भनी सार्वजनिक बोर्ड झुन्ड्याइएकोमा त्यसलाई भत्काएर मनहरवा चोकको बोर्ड राखिएको थियो। मनहरवा लेखिएको बोर्डमा कालो पोतिएपछि झन् विवाद बढेको थियो ।

चोकको नामबारे लामो समयदेखि विवाद रहँदै आएकोमा गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले यसपाली दशैंमा समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस