‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’


८ कार्तिक २०७७, शनिबार


बलेवा । खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसान बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेर्न थालेका छन् ।

गाउँपालिकाले अनुदानमा उपलब्ध गराएको मेसिनले केही समयका लागि भए पनि बाँदर भाग्ने भएपछि किसानलाई सहज भएको छ । ‘एउटा वडाबाट धपाउँदा अर्को वडामा पुग्छ, पड्काएको केहीबेरसम्म बाँदर आउँदैनन्’, वडा नं. २ का किसान कान्तलाल जैसीले भने, ‘मेसिनका कारण सजिलो भएको छ ।’ बाँदरले बाली मासेपछि मारमा परेका किसानलाई पछिल्लो समय सजिलो भएको उनको भनाइ छ । पोहोरभन्दा यस वर्ष मेसिनको सहयोगमा बाँदर नियन्त्रण गर्न सकिएकाले खेतबारीको बाली जागाउन सकिएको जैसीले बताए ।

‘मकै पाक्ने बेला बाँदरको बास नै खेतबारीमा हुन्थ्यो, हिउँद र वर्षा बाँदर धपाएरै दिन काटिन्थ्यो’, जैसीले भने, ‘अहिले एक पटक धपाए पछि केही दिनका लागि ढुक्क भइन्छ ।’ बन्दुकजस्तै पड्किने मेसिन गाउँपालिकाले किसानलाई उपलब्ध गराएको हो । मेसिन प्रयोग गर्न थालेपछि बाँदर कहिलेकाँही घुमिफिरी आउने गरेको वडा नं ६ बिहुँका बालानन्द कँडेल बताउँछन्।

गाउँपालिकाले ४० थान बाँदर धपाउने मेसिन आठओटै वडाका किसानलाई उपलब्ध गराएको छ। प्रत्येक वडामा पाँच पाँच वटाका दरले मेसिन वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । सुरुआतमा स्याङ्जामा मेसिन बनेको र प्रभावकारी रहेको खबर पाएपछि यहाँका किसानको आग्रहमा गाउँपालिकाले प्रतिथान रु तीन हजारका दरले मेसिन किनेको थियो । अहिले बागलुङमै मेसिन बनाउन थालिएको थापाले बताए । रु दुई हजार एक सयमा बागलुङमै मेसिन निर्माण गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस