सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य


३ कार्तिक २०७७, सोमबार


काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर(फेस सिल)को प्रयोग अनिवार्य गरेको छ ।

विभागले आज सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि छोटो, मध्यम र लामो गरी सबै दूरीका सवारी साधनमा यस्तो व्यवस्था गरिएको जनाएको छ ।

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिका तथा मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ । विभागले सवारीसाधनमा साविक भाडादर कायम गरिएको पनि बताएको छ । मन्त्रिपरिषद्को गत २६ गतेको निर्णयानुसार सिट क्षमताअनुसार यात्रु राख्न पाउने व्यवस्थाका कारण सवारीसाधनले बढी भाडा लिन नपाउने भएका छन् ।

सरकारले गत महिना सिट क्षमताभन्दा आधा यात्रु राख्नुपर्ने र तोकिएकोभन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले बताए ।

गत असोज २६ गते बसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा सवारीसाधनले सिट क्षमताअनुसार यात्रु राख्न पाउने हुँदा बढी भाडा लिन नपाउने भएका हुन् । सरकारले यसअघि नै चालक सहचालकले सवारीसाधनमा मास्क, पञ्जाको प्रयोग अनिवार्यरुपमा गर्ने व्यवस्था गरेको थियो ।

सरकारले सवारीसाधनको ढोकामा र भित्र स्यानिटाइजर राख्नुपर्ने व्यवस्था गरेको छ । अहिले स्वास्थ्य सावधानी अपनाएर सवारीसाधन सञ्चालन गर्नुको विकल्प नभएको सूचना अधिकारी डा. भुसालले बताए । उनले भने,’मापदण्डको पालना भए/नभएको हामीले पनि अनुगमन गरिरहेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस