विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाको मेयर सहित कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको सबै सेवा सोमबारबाट बन्द गरिएको छ ।
मेयर खड्ग फागोसहित नगरका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रदान गरिँदै आएका सेवा बन्द गरिएका हुन् ।
मेयर फागोसहित संक्रमित कर्मचारीको सम्पर्कमा रहेका जनप्रतिनिधि र अरु कर्मचारीको पीसीआर परीक्षण गराउनुपर्ने भएकाले रिपोर्ट नआएसम्म सेवा बन्द नै रहने नगरपालिकाले सुचना मार्फत जानकारी गराएको छ ।
फागोका अनुसार पीसीआर परीक्षणका लागि अरु कर्मचारी र जनप्रतिनिधिको स्वाब संकलन सुरु गरिएको छ । पाँच दिनअघि उनका सवारी चालक इन्द्र आपागाईंमा कोरोना पुष्टि भएको थियो । त्यसपछि होम क्वारेन्टाइनमा बसेका नगर प्रमुख फागो र नगर स्वास्थ्य शाखा संयोजक सुरेश खड्कालाई पनि कोरोना देखिएको छ ।