वेबसाइट वा एप्लिकेशन सफ्टवेयर सञ्चालनका क्रममा देखिएका समस्या र समाधानका उपाय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वेबसाइट वा एप्लिकेशन सफ्टवेयर सञ्चालनका क्रममा देखिएका समस्या र समाधानका उपाय


१७ आश्विन २०७७, शनिबार


सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । मुख्यतः प्राकृतिक प्रकोप जस्तै: भूकम्प, कोभिड १९ महामारी आदिको समयमा यसको उपयोगिता झन् बढेर गएको छ । कोभिड महामारीका कारण विश्व नै केही समयका लागि रोकी सकेको भानभईरहेको अवस्थामा सूचना प्रविधिको प्रयोग आश्चर्यचकित रूपमा बढेको छ । उदाहरणका लागि अनलाइन सेवा, अनलाइन कक्षा/तालिम, अनलाइन बहस/बैठक, अनलाइन खरिदबिक्री आदि ।

एकातर्फ सूचना प्रविधिको प्रयोग नेपालमासमेत विभिन्न क्षेत्रहरूमा बढ्दै गइरहेको छ भने अर्कोतर्फ विभिन्न संस्थाहरूबाट विशेषतः सरकारी निकायबाट सञ्चालित वेबमा आधारित सूचना प्रणाली (वेबसाइट वा एप्लीकेशन सफ्टवेयर) समयमा अद्यावधिक वा परिमार्जन नहुने गरेको, समय-समयमा काम नगर्ने गरेको, ह्याक हुने गरेको वा बारम्बार डाउन हुने गरेको समाचार विभिन्न सञ्चार माध्यमहरूबाट बेला बखतमा आउने गरेको छ । तर यथार्थमा यसबाट नेपालको कुनै पनि संस्था अछुतो छैन थोर बहुत मात्राको फरक मात्र होला । अर्कोतर्फ वेबमा आधारित प्रणाली विभिन्न कारक तत्त्वहरूमाथि निर्भर हुनुका साथै प्राविधिक विषय भएकोले यसको यथार्थको बारेमा थाहा नभई गलत सोच/विचार सृजना हुने गरेको पनि पाइन्छ ।

समस्याः

वेबमा आधारित सूचना प्रणाली व्यवस्थित रूपमा सञ्चालनका लागि आवश्यक पर्ने मुख्य तत्त्वहरू देहाय बमोजिम रहेको छः  क) सूचना प्रणाली (वेबसाइट वा एप्लीकेशन सफ्टवेयर), ख) होस्टिङ भएको स्थानको सेवा सुविधा एवं प्रयोग भएको हार्डवेयर एवं नेटवर्क उपकरण र सिस्टम सफ्टवेयर एवं कन्फिग्रेशन, ग) इन्टरनेट वा इन्टरनेट सेवा, घ) डाटाबेस र ङ) सूचना प्रविधि जनशक्ति । यी सबै तत्त्वहरूको एकीकृत प्रयासले मात्र वेबमा आधारित सूचना प्रणाली सञ्चालन हुने गर्दछ ।

प्रणाली सञ्चालनका क्रममा देखिएका मुख्य समस्याहरू देहाय बमोजिम रहेको छः

  • प्रणालीमा पहुँच नहुनेः प्रणाली राखिएको (होस्टिङ/इन्स्टल) सर्भरमा खराबी उत्पन्न हुनु, विद्युत् आपूर्ति नहुनु, लोकल नेटवर्कमा समस्या हुनु, फायरवाल वा राउटरको कन्फिग्रेशन वा पालिसी सही नुहुनु, इन्टरनेट वा इन्टरनेट सेवा उपलब्ध नहुनु, सुरक्षाका उपायहरू समयमा नअपनाउँदा प्रणाली ह्याक हुनु वा प्रणाली मर्मत सम्भारका लागि सर्भर डाउन भएको अवस्थामा सामान्यतः प्रणालीमा पहुँच हुँदैन ।
  • प्रणालीले संस्थाको कार्य प्रकृति अनुसार काम सम्पादन नगर्नेः प्रणालीमा पहुँच भए पनि प्रणालीमा रहेको विभिन्न किसिमको त्रुटि/बग, प्रणालीको फन्कसनल सीमितता, सर्भर/प्रणालीको कम क्षमता, गलत डाटा प्रविष्टि /माइग्रेसन वा सही ढङ्गले प्रणालीमा कार्य नगर्दा प्रणालीले संस्थाको कार्य प्रकृति अनुसार आवश्यक काम गर्न सक्दैन ।
  • प्रणालीमा गैर कानुनी कार्य गर्नेः प्रणालीमा भएको कमी कमजोरीको फाइदा उठाई, अन्य प्रयोगकर्ताको युजर नेम र पासवार्ड जानी वा आफ्नै युजर नेम र पासवर्ड प्रयोग गरी गलत मनसायले प्रणालीमा अनैतिक र गैर कानुनी कार्य गर्ने ।
  • प्रणाली समयमा अद्यावधिक वा परिमार्जन नहुनेः अद्यावधिकका लागि आधिकारिकरूपमा स्पष्ट निर्णय/सूचनाहरू समयमै प्राप्त नहुने, आवश्यक दक्ष जनशक्ति नहुनु एवं अर्कोतर्फ संस्थाका निर्णयहरू बारम्बार परिवर्तन भइरहने तथा प्रणालीमा असर पर्ने निर्णयहरूमा पहिल्यैदेखि सम्बन्धित महाशाखा/शाखा वा परामर्शदातालाई संलग्न नगराउने अवस्थामा सो अनुसार प्रणाली पहिल्यै नै निर्माण नभएको खण्डमा निर्णय बुझेर प्रणाली परिमार्जन, परीक्षण एवं डेप्लायमेण्ट गर्न समय लाग्ने भएकोले प्रणाली समयमा अद्यावधिक नहुने गरेको पाइन्छ । यद्यपि कहिलेकाहीँ संस्थाको प्रणाली सुचारु रूपमा चलिरहेपनि कतिपय प्रयोगकर्ताको आफ्नो कम्प्युटर/ल्यापटपमा भएको खराबी, इन्टरनेट सेवा अवरुद्ध र ज्ञानको कमीको कारण यतिकै गुनासो गरेको पनि पाइन्छ ।

समाधानका उपायः

प्रणाली व्यवस्थित रूपमा सञ्चालनका लागि तत्काल देहाय बमोजिमका उपाय अवलम्बन गर्नुपर्ने देखिन्छः

  • समस्या पहिचान गर्नेः के कारणले प्रणालीमा समस्या उत्पन्न भएको हो सोको पहिचान गर्ने ।
  • समस्या समाधान गर्नेः समस्याको प्रकृति अनुसार आवश्यक कदम चाल्ने । जस्तै हार्डवेयरको समस्या हो भने हार्डवेयर परिवर्तन वा मर्मत सम्भार गर्ने, नेटवर्क हो भने नेटवर्क मर्मत सम्भार गर्ने, नेटवर्क उपकरण हो भने नेटवर्क उपकरण परिवर्तन गर्ने, नेटवर्क पालिसी कमजोर हो भने सो परिमार्जन गर्ने, सेक्युरिटीको समस्या हो भने सोको तुरुन्त व्यवस्थापन गर्ने, प्रणालीको हो भने त्यसको विश्लेषण गरी सोही बमोजिम कदम उठाउने, इन्टरनेट वा इन्ट्रानेटको समस्या हो भने सम्बन्धित सेवा प्रदायक संस्थालाई तुरुन्त सञ्चालनको लागि निर्देशन दिने वा विद्युत् आपूर्तिको समस्या हो भने विद्युत् आपूर्तिको व्यवस्था गर्ने आदि । यी सबैले आ-आफ्नै किसिमको विशेषज्ञताको माग गर्दछ । त्यसैले यस्तो अवस्थामा सकभर आफ्नै स्थायी जनशक्ति भएमा गुणस्तर सेवा निरन्तर रूपमा प्रदान गर्न सकिन्छ अन्यथा विभिन्न सेवा प्रदायक संस्थाहरू माथि निर्भर हुनुपर्नेका साथै सेवा सुचारु हुन समय लाग्ने लगायत प्रणाली एवं डाटा माथिको पहुँच बाह्य सेवा प्रदायक संस्थामा हुन सक्दछ; जुन कुनै पनि संस्थाको लागि हितकर हुँदैन ।
  • प्रयोगकर्ताको दृष्टिकोणले प्रणाली बलियो बनाउनेः प्रणालीको युजर लग सिस्टम बलियो बनाउनुका साथै प्रणालीका विभिन्न मोडयुलहरुमा रहेका कमी कमजोरी समयमा हटाउने, प्रयोगकर्ताले सावधानीपूर्वक आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरी तोकिएको अधिकार बमोजिम कार्य सम्पादन गर्ने, अन्य प्रयोगकर्ताको युजर नेम र पासवर्ड प्रयोग गरी प्रणालीमा काम नगर्ने, प्रणाली प्रयोगकर्ताले आफ्नो पासवर्ड नियमित रूपमा परिवर्तन गरी राख्ने, प्रणाली प्रयोग सम्बन्धी तालिम समय-समयमा प्रणाली प्रयोग गर्ने कर्मचारीलाई प्रदान गर्नेको साथै कर्मचारीहरू सरुवा, पदस्थापन, सेवा निवृत्त भई कार्यालय छोड्ने बेलामा अनिवार्य रूपमा आफ्नो युजर एकाउण्ट बन्द गराउने बाध्यकारी व्यवस्था गर्ने ।
  • जिम्मेवार पक्षले समयमै निर्णय/सूचना सम्बन्धितलाई उपलब्ध गराउनेः प्रणाली अद्यावधिक वा परिमार्जन/संशोधनका लागि जिम्मेवार शाखाले आधिकारिक निर्णय/सूचना अद्यावधिक/परिमार्जन गर्नेलाई समयमै उपलब्ध गराउने । यस्तै प्रणालीमा असर पार्ने निर्णयहरू सकभर छिटो छिटो परिवर्तन नगर्ने वा गर्नुपर्ने भएमा शुरुदेखि सूचना प्रविधि महाशाखा/शाखा वा परामर्शदातालाई संलग्न गराउने । यसका अतिरिक्त सेवाग्राही एवं प्रणाली प्रयोगकर्ताले गुनासो गर्नुभन्दा पहिले आफूले प्रयोग गर्ने कम्प्युटर/ल्यापटप ठिकसँग काम गरेको छ कि छैन, यु.आर.एल.मा टाइप गरेको ठेगाना गलत छ कि छैन ? एवं इन्टरनेट सेवा छ कि छैन ? यकिन हुनुपर्ने देखिन्छ ।

दीर्घकालीन रूपमा देहायका उपाय अवलम्बन गर्दा कम जोखिमका साथ गुणस्तर सेवा नियमित रूपमा प्रदान गर्न सकिन्छः-

  • बिजनेस प्रोसिङ्ग रिईन्जिनियरिङ्गसहित प्रणाली विकासपरीक्षण र डेप्लायमेण्टः परम्परागत तरीकाले नभईकन छिटोछरितो, सजिलो र सुरक्षित सेवा प्रदान गर्ने दृष्टिकोणले अनावश्यक चरणहरू घटाई बिजनेस प्रोसेस रीईन्जिनियरिङ्ग गर्ने, विस्तृत रूपमा सिस्टम एनालाइसिस र डिजाइन गर्ने, उपयुक्त भाषा र डाटाबेस सिस्टम छनौट गरी उपयुक्त भ्यालिडेशन सहित आगामी परिवर्तन सजिलै समायोजन गर्न सकिने किसिमले प्रणाली विकास गर्ने/गराउने, कार्यगत (फन्कसनल) र सुरक्षा परीक्षण गर्ने, सफलतापूर्वक परीक्षण पश्चात् प्रोडक्सन सर्भरमा प्रणाली डेपलायमेण्ट गर्दा भरपर्दो एवं विश्वासिलो प्रणाली विकास हुने सम्भावना अधिक हुन्छ; अन्यथा प्रणाली सञ्चालनका क्रममा बारम्बार अनेक समस्या उत्पन्न हुने गर्दछ । प्रणाली विकास, परिमार्जन र परीक्षणका लागि संस्थाका विभिन्न प्रक्रिया बुझेको एवं कानुनको ज्ञान भएको कर्मचारी र सूचना प्रविधि कर्मचारी पूर्ण रूपमा समर्पित (डेडिकेटेड) तरीकाले खटाउनु पर्दछ । सूचना प्रविधि क्षेत्रमा आजकल भइरहेको अस्वस्थ्य प्रतिस्पर्धाका कारण प्रणाली विकास वा सपोर्टका लागि उपयुक्त एवं ईमान्दार परामर्शदाता छनोट गर्न आजकल चुनौतीको रूपमा देखिएको छ । त्यसैले सुरुदेखि नै सम्बन्धित संस्थाले चनाखो हुनुपर्दछ । यसका लागि सही कार्य योजना बनाई सम्बन्धित परामर्शदातालाई सो बमोजिम कार्य गर्न प्रेरित र निर्देशन दिईराख्नुको साथै एस.आर.एस.एवं डिजाइन डकुमेण्ट, अपरेटिङ्ग एवं सिस्टम म्यानुअल, अद्यावधिक सफ्टवेयरको सोर्सकोड र तालिम अनिवार्य रूपमा सम्बन्धित परामर्शदाताबाट लिनुपर्दछ ।
  • सुरक्षाका उपायहरू अवलम्बन गर्नेः प्रणाली सुरक्षित रूपमा सञ्चालनका लागि पूर्ण रुपेण सफ्टवेयर सुरक्षाका दृष्टिकोणले बग फ्री नहुनु, फाइरवाल वा राउटरको उचित कन्फिग्रेशन वा पालिसी सेट नहुनु, अपरेटिङ्ग सिस्टममा एण्टीभाइरस सफ्टवेयर इन्स्टाल नहुनु, एस.एस.एल. सर्टिफिकेट सर्भरमा इन्स्टाल नहुनु, डिजिटल सिग्नेचर पूर्णरूपमा लागू नहुनु, आफू अन्तर्गत कार्यालयहरूबिच भीपीएन स्थापना नहुनु र नियमित रूपमा सिस्टम अनुगमन र अपडेट नभएको कारणले प्रणालीहरू ह्याक हुने वा अनधिकृत रूपमा प्रणाली वा डाटाबेसमा पहुँच हुने सम्भावना बढी भएकोले प्रणालीको सुरक्षाका लागि माथि उल्लिखित आवश्यक उपायहरू यथाशीघ्र अवलम्बन गर्नुपर्दछ ।
  • डाटा सेन्टर व्यवस्थित रूपमा सञ्चालन गर्नेः प्रणाली होस्टिङ भएको स्थान अर्थात् डाटा सेन्टरमा रहेका सर्भर लगायत अन्य उपकरणहरू समय-समयमा अपग्रेड नहुँदा र विद्युत् एवं इन्टरनेट वा इन्ट्रानेट सेवा अवरोध भएको अवस्था, नियमित रूपमा अनुगमन गरी सुरक्षाका उपायहरू नअपनाउँदा र स्थायी सपोर्ट गर्ने दक्ष कर्मचारी नहुँदा प्रणालीमा बारम्बार समस्या उत्पन्न हुनेका साथै डाटाबेस पनि उच्च जोखिममा रहने भएकोले डाटा सेन्टर व्यवस्थित रूपमा सञ्चालन हुनुपर्दछ । सरकारी प्रणालीका लागि डाटा सेन्टर सिंहदरबार/डाटा रिकभरी हेटौडामा स्थापना भए पनि सेवाको गम्भीरता एवं उक्त डाटा सेन्टरमा कहिलेकाहीँ आइरहेको समस्याले गर्दा कतिपय संस्थाहरूको आफ्नै डाटा सेन्टर छ भने कतिपयले आफ्नै डाटा सेन्टर स्थापना गर्न लागेको छ । जसले गर्दा मौजुदा रिसोर्सको पूर्ण उपभोग हुन सकेको छैन भने अर्कोतर्फ अनावश्यक खर्च बढ्दै गइरहेको छ ।
  • इन्टरनेट/इन्ट्रानेट सेवा खरिद र सार्वजनिक खरिद नियमावलीमा आवश्यक संशोधनः बाटो एवं ढलको विस्तार वा मर्मत सम्भार आदिले गर्दा सेवा प्रदायक संस्थाको अप्टिकल फाइवर बीच-बीचमा भाँचिने र केबलहरूको सही व्यवस्थापन नभएका कारण कुनै-कुनै स्थानमा आगो लाग्ने गरेको आदिले गर्दा इन्टरनेट/ इन्टरनेट सेवा अवरुद्ध हुने गरेको छ; जसले गर्दा प्रणालीहरूमा पहुँच नहुने गर्दछ । त्यसैले सकभर कम्तीमा दुई वटा सेवा प्रदायक संस्थाहरूबाट अलग मार्गबाट हुने गरी वा कम जोखिम भएका संस्थाले एउटै सेवा प्रदायकबाट ब्याकअप लिङ्क (अलग मार्ग/माध्यमबाट) सहित उपरोक्त सेवाहरू खरिद गर्नुपर्दछ । वेबमा आधारित प्रणाली सञ्चालनका लागि इन्टरनेट / इन्टरनेट सेवा अति आवश्यक हुने भएकोले सेवाको गम्भीरताका कारण वार्षिक रूपमा उक्त सेवा खरिद गरी जडान गर्न व्यावहारिक रूपमा समस्या हुने गरेको र यो लगायत एस. एम. एस. कुन सेवा अन्तर्गत पर्ने समेत सार्वजनिक खरिद नियमावली, २०६४ मा स्पष्ट उल्लेख नभएकोले नेपाल टेलिकमले तोकेको दरभन्दा बढी नहुने गरी उक्त सेवा विश्वासिलो सेवा प्रदायकबाट सोझै खरिद गर्न वा एकैचोटी तीन वा पाँच वर्षका लागि सेवा खरिद गर्न सार्वजनिक खरिद नियमावली, २०६४ मा आवश्यक संशोधन एवं सेवा बारेमा स्पष्टता र सोको स्टयाण्डर्ड डकुमेण्ट उपलब्ध हुँदा खरिद प्रक्रिया धेरै नै सहज हुने देखिन्छ ।
  • सहीरुपमा डाटाबेस व्यवस्थापनः कुनै पनि संस्थाको महत्त्वपूर्ण सम्पत्ति भनेको डाटा/सूचना नै भएकोले डाटाबेसको रखरखाव राम्रो र सुरक्षित रूपमा हुनुपर्दछ । यसका लागि नियमित रूपमा डाटाबेस व्यवस्थापन गर्नुपर्दछ । नेपालमा खास गरी संस्थासँग स्थायी पर्याप्त दक्ष सूचना प्रविधि जनशक्तिका नभएका कारण प्रणालीको विकास एवं सपोर्ट कार्य मुख्यतः स्वदेशी वा विदेशी परामर्शदाताबाट भइरहेकोले सुरक्षाको दृष्टिकोणले हाम्रो डाटा जोखिमपूर्ण रहेको देखिन्छ ।
  • प्रणाली र डाटाको नियमित अडिटः सञ्चालनमा रहेको प्रणाली र डाटा स्टयाण्डर्ड तरीकाले सञ्चालन एवं रखरखाव भए नभएको यकिन गर्न वार्षिक रूपमा तेस्रो पक्षसँग अडिट गराई भएको कमी कमजोरीलाई यथाशीघ्र सम्बोधन गर्नुपर्दछ ।  महालेखा परीक्षकको कार्यालयबाट सरकारी प्रणालीहरूको अडिट गर्ने कार्य  केही वर्षदेखि भइरहेको छ; जुन वास्तवमा सह्रानीय काम हो ।
  • सही रूपमा डाटा प्रविष्टि वा माइग्रशेन एवं डाटा क्लीनिङ्गः गार्बेज इन गार्बेज आउट” हुने भएकोले प्रणालीमा शुद्ध डाटा प्रविष्टि हुनुपर्दछ अन्यथा त्यसको प्रतिफल सही आउँदैन भने अर्कोतर्फ प्रणालीले आवश्यक काम गर्न सक्दैन । यस्तै प्रणालीमा पुरानो डाटा माइग्रेशन गरेको हकमा डाटा सही छ कि छैन भने कुरा यकिन हुन डाटा क्लीनिङ्ग अनिवार्य रूपमा गर्दा प्रणाली सञ्चालनका क्रममा धेरै नै कम समस्या उत्पन्न हुन सक्दछ ।
  • विभिन्न श्रेणी/तहका स्थायी सूचना प्रविधि जनशक्ति उपलब्धताको साथै आवश्यक तालिम, अध्ययन एवं अवलोकन भ्रमण प्रदान गर्नेः अहिले पनि बुझाई के हो भने एउटा वा दुई वटा कम्प्युटर इन्जिनियर वा कम्प्युटर/सूचना प्रविधि अधिकृत संस्थामा भए प्रणाली विकास वा प्रणालीमा आवश्यक परिमार्जन, अपडेट वा अपग्रेड भइहाल्छ । तर प्रणाली निर्माण, परिमार्जन, अपडेट वा अपग्रेड एवं सपोर्टको आफ्नै स्टयाण्डर्ड चरणहरू हुन्छन् र सम्बन्धित विषयको विशेषज्ञता आवश्यकताका कारण सोही अनुसार विभिन्न किसिम एवं श्रेणी/तहका सूचना प्रविधि जनशक्तिहरू जस्तैः सिस्टम एनालिष्ट, प्रोजेक्ट म्यानेजर, प्रोग्रामर,  सिस्टम इन्टिग्रेटर, क्यूए, डाटाबेस डिजाइनर एवं एडमिनिष्ट्रेटर आदि आवश्यक पर्दछ ।  तसर्थः आवश्यकताअनुसार विभिन्न श्रेणी/तहका सूचना प्रविधिका जनशक्तिहरूको पद सृजना नहुनु र भएको हकमा पदपूर्ति नभएका कारण प्रणाली सञ्चालनमा समस्या आउने गरेकोले संस्थाको आफ्नो आवश्यकताअनुसार आवश्यक सङ्ख्यामा विभिन्न श्रेणी/तहका विभिन्न किसिमका स्थायी सूचना प्रविधि जनशक्तिहरू व्यवस्थापन गर्दा निरन्तर रूपमा सुरक्षित तरिकाले सेवा प्रवाह गर्न सजिलो हुन्छ । तत्काल आफ्नै जनशक्ति व्यवस्थापन गर्न नसकिनेको हकमा परामर्श सेवा खरिद गरी सेवा प्रवाह गर्न सकिन्छ । तर प्रणाली एवं डाटाबेस माथिको पहुँच प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बाह्य (देशी वा विदेशी) परामर्शदातामा हुने भएकोले यथाशीघ्र आवश्यक स्थायी दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्दछ । यसका अतिरिक्त सफ्टवेयर विभिन्न भाषामा विकास गर्ने गरिएकोले उपलब्ध जनशक्तिलाई सोको बारेमा जानकारी नहुन पनि सक्दछ । तसर्थ सो लगायत अन्य सम्बन्धित विषयको बारेमा समय-समयमा सम्बन्धित कर्मचारीहरूलाई तालिम, अध्ययन एवं अवलोकन भ्रमण प्रदान गर्नुपर्दछ ।
  • आकर्षक सेवाको रूपमा रूपान्तरण गर्नेः निजामती सेवा अन्तर्गत सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिहरू खासै उत्साहित रहेको देखिँदैन । उदाहरणका लागि धेरैजसो कम्प्युटर अधिकृत/अपरेटर प्रशासन सेवामा समायोजन हुनु र अहिले पनि प्रशासनमा समायोजन भए धेरैजसो सूचना प्रविधि कर्मचारीहरू समायोजन हुन तयार रहेको अवस्था । यस्तै माथिल्लो श्रेणीमा आवश्यक पद सृजना नभएको कारण २२/२३ वर्ष पहिला सिधै कम्प्युटर अधिकृत/इन्जिनियरको पदमा निजामती सेवामा प्रवेश गरेका कर्मचारीहरू हालसम्म उपसचिव/निर्देशक पदमा खुम्चिएर बस्नुपर्ने अवस्था विद्यमान छ; जबकि सँगैका कतिपय अन्य सेवाका कर्मचारीहरू सहसचिव वा सचिव सम्म पुगी सकेको अवस्था छ । अर्कोतर्फ सूचना प्रविधि कर्मचारीहरूलाई हालसम्म विविध सेवा अन्तर्गत राखिएको छ । यसका अतिरिक्त यस क्षेत्रमा लागेको कर्मचारीहरू पहिलेको तुलनामा २४ औँ घण्टा सेवा दिनुपर्ने अवस्था सृजना भैसकेको एवं सेवाको गम्भीरताको दृष्टिकोणले कार्यक्षेत्रमा अन्य सेवाका कर्मचारीको तुलनामा सेवा सुविधा बढी पाउनुपर्नेमा खासै प्राथमिकतामा नै पर्दैन । २४ औँ घण्टा सेवा प्रदान गर्दा इन्टरनेट, मोबाइल, सवारीसाधन र प्रोत्साहन भत्ता नपाउनुका साथै निजीको तुलनामा कम तलब हुनु, कम्प्युटरमा लगातार काम गर्दा सृजना हुने विभिन्न किसिमको रोगहरूको निःशुल्क उपचार नहुनु र तालिमको अवसर न्यून रहेको छ । यसैले यस बारेमा सम्बन्धित पक्षको ध्यान समयमै जाँदा यस सेवामा लागेका कर्मचारीहरूको मनोबल अझ उच्च भई कार्यक्षेत्रमा अझ लगनशील भई काम सम्पादन गर्न हौसला प्रदान हुन सक्ने देखिन्छ ।
  • सूचना प्रविधि सम्बन्धी निकायहरूको पुनर्गठन र कानुनको निर्माणः सूचना प्रविधि विभागलाई प्रणाली विकास, डाटा सेन्टर व्यवस्थापन र सूचना प्रविधि कर्मचारीहरूको सरुवा, बढुवा, पदस्थापन गर्न सकिने थप जिम्मेवारी दिई भारतको नेशनल इन्फारमेटिकस्स सेन्टर जस्तै कम्तीमा प्रदेशसम्म सूचना प्रविधि कार्यालयहरू स्थापना मार्फत उपस्थिति जनाउन आवश्यक देखिन्छ । यस्तै राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई पूर्ण रूपमा सूचना प्रविधि सम्बन्धी अनुसन्धान एवं तालिम केन्द्रको रूपमा विकास गर्दा अझ महत्त्व बढ्ने देखिन्छ । सूचना प्रविधिको बढ्दै गइरहेको प्रयोगलाई सुरक्षित एवं स्टायण्डर्ड तोक्नका लागि प्रमाणीकरण नियन्त्रकको कार्यालयलाई अझ व्यवस्थित एवं प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने देखिन्छ । सूचना प्रविधिको प्रयोग बढ्दै गइरहेको सन्दर्भमा यसको दुरुपयोग पनि विभिन्न किसिमले भइरहेको छ । यस सम्बन्धमा सूचना प्रविधि न्यायाधिकरण गठनका साथै समय-सापेक्ष सूचना प्रविधि ऐन लगायत अन्य नियमावली र निर्देशिका निर्माण हुनुपर्दछ ।

उपरोक्त उपायहरू अवलम्बन गर्दा वेबमा आधारित सूचना प्रणाली व्यवस्थित रूपमा सञ्चालनका साथै सपोर्ट गर्नमा सहज हुने देखिन्छ । नयाँ विकास गरिएको वेबमा आधारित सूचना प्रणाली स्थायित्व हुन केही समय लाग्ने भएकोले सम्बन्धित सबै पक्षहरूलाई आवश्यक सहयोग र धैर्यता देखाउनुपर्दछ । विश्वमा प्रत्येक वस्तु/प्राणी चलायमान रहेकोले कुनै पनि संस्थामा पर्याप्त दक्ष जनशक्ति नभए पनि कुनै पनि प्रणाली चल्न सक्दछ तर कस्तो चल्छ त्यो महत्त्वपूर्ण कुरो हो । त्यसैले प्रणाली एवं डाटाको सुरक्षाको दृष्टिकोणले स्थायी दक्ष जनशक्तिहरू संस्थामा समयमा व्यवस्थापन गर्दा सुरक्षित रूपमा गुणस्तर सेवा नियमित रूपमा प्रदान गर्न सकिन्छ । यसरी गर्न सक्यो भने निश्चित रूपमा “डिजिटल नेपाल फ्रेम वर्क” ले बोकेको सपना साकार गर्न खासै समय लाग्दैन । तर यसका लागि सबै निकायहरूले आ-आफ्नो ठाउँबाट आवश्यक सहयोग र उदार बन्नुपर्ने अवस्था  देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस