जागिरको सिलसिलामा सुदूरपश्चिम प्रदेशको डोटी जानुपर्ने भयो । देशैभरि कोरोनाको सङ्क्रमण बढ्दै थियो । काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या आक्रामक रूपमा थपिँदै थियो । मृत्यु हुनेको नम्बर पनि दैनन्दिन माथि चढ्दै थियो । देशका विभिन्न जिल्ला र स्थानमा स्थानीय स्तरबाटै निषेधाज्ञा जारी गरिएका थिए । केही समयको अन्तरालमा काठमाडौँ उपत्यकामा पनि निषेधाज्ञा जारी भयो । सोही बीचमा उक्त कार्यालयका अन्य दुई रिक्त पदमा कर्मचारीहरूको पदस्थापन भयो । आवश्यक प्रबन्ध मिलाई सबै जना डोटी पुग्यौँ ।
अत्यावश्यक सेवा प्रदान गर्ने निकायका कर्मचारीलाई जस्तो कामको चटारो थिएन । नियमित प्रशासनिक कार्यहरू सुचारु नै थिए । बाँकी रहेका केही काम सम्पन्न हुँदै गए । कार्यालयको कार्य बोझ र उपलब्ध समयको लेखाजोखा गरी डोटी, बझाङ, बाजुरा र अछामका विभिन्न स्थान गरी दुई सय पच्चीस वर्ग कि.मिमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने लालसा बढ्यो । अन्य दुई जना सहकर्मी साथीहरूसँगै असोजको पहिलो हप्ता जाने निधो भयो । निकुञ्जका वार्डेनसँगको सम्पर्क पश्चात् प्रवेश अनुमति र पुगिसकेपछि बस्ने स्थानका सम्बन्धमा तारतम्य मिल्यो । आवश्यक तयारी पश्चात् कालोपत्रे र कच्चीसमेत गरी दुई घण्टाको गाडीको बाटो छिचोल्दै बिहान करिब दस बजे निकुञ्ज प्रवेश स्थल झिग्राना पुगियो ।
अघिल्लो दिन झिग्राना पुगेर बस्ने र भोलिपल्ट बिहानै त्यहाँबाट हिँड्नेहरू उसै दिन बेलुकीसम्म खप्तड पुग्ने रहेछन् । ज्यादा थकान नहोस् भनी पहिलो दिन साढे छ किलोमिटरको बाटो पार गरेर बिचपानीमा बस्ने हाम्रो योजना बन्यो । लकडाउनको कारण रोकिएको निकुञ्ज भ्रमण पूर्ण रूपमा सुचारु भइसकेको रहेनछ । उक्त स्थानमा सो समयमा खाना खाने र बस्ने व्यवस्थाको उपलब्धताको सम्बन्धमा यकिन भएन । कार्यालयको कामको सिलसिलामा झिग्राना आएका निकुञ्जका वार्डेनको हामी जाने दिन बिहानै बिचपानी हुँदै खप्तड फर्किने योजना रहेछ । उनले लकडाउनअघि बिचपानीमा खाजा, खाना खुवाउँदै आएका हरिसिंहलाई हामी आउने जानकारी प्रदान गर्ने वचन दिए । यसबाट खाने, बस्ने समस्या नहोला भन्नेमा आशावादी भयौँ ।
निकुञ्जको सेक्टर कार्यालय प्रवेश गर्नु अघि नेपाली सेनाको पोष्टबाट आवश्यक सोधपुछ र चेक जाँच भयो । सेक्टर कार्यालयका रेन्जरले तीन घण्टामा सजिलै बीचपानी पुगिने बताए । सानो खोला माथिको फड्के पार गर्दै एक घण्टा पच्चीस मिनेट हिँडेपछि विश्राम स्थल भेटियो । रेन्जरले हरेक पैँतालिस मिनेटको अन्तरालमा विश्रामस्थल रहेको भने तापनि पहिलो स्थल भेट्न हामीलाई करिब दोब्बर समय लाग्यो । त्यसपछि भेटिएका अरू दुई वटा विश्रामस्थल र अन्य ठाउँमासमेत केही क्षण आराम गर्दै चार घन्टापश्चात् डाँडाको उच्च भागमा रहेको केही फराकिलो स्थानमा पुगियो । त्यहीँ स्थान नै बिचपानी रहेछ ।
‘गाउँमा परिवार नियोजनको परिपाटी छैन । कुनै कुनै महिलाले गरेका हुन सक्छन् । पुरुषले गर्ने चलन छैन । शारीरिक कमजोरी हुने, काम गर्न नसकिने, सामाजिक क्रियाकलापमा सहभागी हुन नसक्दा समाजले बहिष्कार गर्न सक्ने हुँदा मैले पनि गरिन । कहिलेकाहीँ गर्ने सोच आउँछ तर समाजले अवहेलना गर्ने डरले गर्न सक्दिन ।’
बिचपानी समुद्री सतहबाट तीन हजार एक सय मिटरको उचाइमा जङ्गलको बीचमा अवस्थित रहेछ । त्यहाँ जम्माजम्मी तीन वटा साना घर थिए । एउटा अलि नयाँ गोलो आकारको घर थियो । त्यसको छानोका केही जस्ताहरु कुच्चिएर खसेका थिए । बिहानीको शित, दिउँसोको घाम र जुनसुकै बेलाको पानीलाई भित्रैदेखि स्वागत गर्न उक्त घर विवश देखिन्थ्यो । अर्को सानो घरमा ताल्चा लगाएको थियो । साँच्चिकै कसको स्वामित्वको हो भन्ने यकिन भएन । सँगै रहेको एक तलाको अंग्रजी एल आकारको घर अलि पुरानो लाग्दथ्यो । घरमा बाहिर र छतमा एकएक वटा सोलार प्यानल देखियो । खिया लागेको जस्ताको छाना थियो । काठका मक्किएका झ्यालढोका थिए । छतमा निलो ड्रम घोप्टिएको थियो । खाना पकाउन बनाइएको कोठालाई तेर्सो पारेर जस्ता ठोकेर छेकिएको थियो । आँगनमा भारी अड्याउने र बस्ने काठका बेन्चहरू थिए । घरको दायाँतर्फ पाइपबाट निरन्तर चिसो पानी बगिरहेको थियो । छेउमा शौचालय थियो । त्यहीँ घरमा विगत केही वर्षदेखि यात्रुलाई खाजा, खाना र बासकोसमेत सेवा दिई हरिसिंहले आफ्नो रोजीरोटी चलाउँदै आएका रहेछन् । उनले भने –‘यो घर तत्कालीन जिल्ला विकास समितिले बनाएको रहेछ ।’
पातलो तथा अग्लो शरीर । छरितो र मसिनो काया । निहुरिने बानीले हल्का नुघेका कुम । खुट्टामा कपडाका पुराना जुत्ता । देह ढाक्ने एकसरो कमिज, हल्का पुरानो तथा मैलिएको इस्ट कोट र क्वार्टर पाइन्ट । सामान्य चाउरिएको अनुहार । झर्लक्क हेर्दा बुढ्यौली उमेरमा प्रवेश गरेजस्ता । यथार्थमा एकतिस सालको चैतमा जन्मिई छयालिस वर्षमा चल्दै गरेका । नवआगन्तुकलाई सामान्य अभिवादन र स्वागत गर्न सिपालु । खस्रो आवाज तर मिठो शैलीमा अभिव्यक्त गर्ने बानी । बुझ्न असहज नलाग्ने डोटेली भाषा र लवज । निश्चिन्त र निडर स्वभाव । यिनै थिए, सामान्य बुझाइका हरिसिंहका विशेषता ।
लकडाउन अर्थात् बन्दाबन्दी पश्चात् घरबाट सोही दिन मात्रै होटेल खोल्न आएका थिए हरिसिंह । उक्त ठाउँमा पानी र दाउरा बाहेक केही उपलब्ध थिएन । सबै चिज झिग्रानाबाट एक घन्टाभन्दा टाढाको दुरीमा रहेको आफ्नै घर तथा बजारबाट किनेर ल्याउनुपर्ने रहेछ । हामीलाई चार घन्टा लागेको उकालो बाटो उनी दुई घन्टाभन्दा कम समयमै पार गर्दा रहेछन् । बिचपानीबाट झिग्राना फर्किँदा त ओरालो बाटो केवल पैतालिस मिनेटमै पुग्ने दाबी गरे । हामी पुगेपछि ठूला काठका मुढा अगेनामा हाले । काठ पानीले भिजेको हुनाले धुवाँ आइरहेको थियो । उनले पानी तताउँदै, चाउचाउ पकाउँदै र चिया बनाउँदै गर्दा बाहिर विश्राम गरेका दुई बालकसँग परिचय भयो । दुवै हरिसिंहका छोरा रहेछन् । सानो नरेन्द्र विष्टले पाँच कक्षामा र ठूलो वीरबहादुरले सात कक्षामा पढ्दै रहेछन् । नरेन्द्रले आफ्नो एक जना अझ ठुलो दाइ भएको बताए । उनी घरमै रहेछन् । विवाहसमेत गरिसकेछन् । हरिसिंहका दुःखमा छोराहरु साथ दिने हुनै लागेको अनुभूति भयो । थकित अवस्था र अझ कम्तीमा पाँच घण्टाको बाटो बाँकी भएकोले हामी अगाडी बढ्न सक्ने परिस्थिति थिएन । पूर्व योजना अनुसार त्यहीँ बस्ने कुरा हरिसिंहलाई सुनायौँ । बिहान उनकै होटेलमा खाना खाइ खप्तडतिर लागेका वार्डेनले हामीहरू चार बजेसम्म पुग्ने जानकारी दिएका रहेछन् । हामी केही गरी समयमै पुग्न नसकेको भए उनको घर फर्किने योजना रहेछ । यदि उनी त्यहाँ नभेटिएको भए हामीले व्यहोर्नुपर्ने दुःख अकल्पनीय हुने थियो ।
झिग्रानाबाट हाम्रो पछिपछि खप्तड पठाउने सामान बोकेर गएका सेनाका जवानहरू केही छिनमा बिचपानी पुगे । उनीहरूले खप्तडबाट त्यहाँसम्म आएका जवानलाई भारी जिम्मा लगाए । हरिसिंहको होटेलमा तातो पानी एवं चियासँग बिस्कुट खाइ दुवैतर्फका जवानहरू तत्कालै आआफ्नो कार्यालयतर्फ फर्किए । त्यहीँ बीचमा हरिसिंहले अर्को दिन सेनाका जर्साब खप्तड जान लागेको जानकारी गराए । खप्तड पुग्नुअघि उनको बाहेक अन्यत्र कुनै खाने, बस्ने ठाउँ नभएकोले आवतजावत गर्ने सबैजसोको उनीसँग सम्पर्क र सूचना हुने रहेछ ।
पसिनाले निथ्रुक्क भिजेको र थकित शरीरले आराम गर्ने ठाउँ खोज्दै थियो । उनको होटेलमा खाना पकाउनेसमेत जम्मा तीन वटा कोठा रहेछन् । एउटा कोठामा रहेको खुट्टे खाटमा छोरासँग उनी सुत्ने भए । छोराहरू स्कुल बिदा भएको समयमा मात्र आउने जाने गर्दा रहेछन् । प्रायः उनी एक्लैले होटेल धान्नु पर्ने रहेछ । सो दिन पनि माइलो छोरा वीर बहादुर सेनाका जवानको साथ लागेर घर फर्किए । अर्को कोठामा जोडाएर राखेका तीन वटा खुट्टे खाट र झ्यालमा पट्याएर राखेका कपडा रहेछन् । सबै मिलेर बिस्तरा बनायौँ । सिरकमा खोल रहेनछ । लामो समय बन्द रहेकोले सिरकको बीच भागमा मुसाले काटेर ठुला प्वाल बनाएको रहेछ । उनले आफ्नो कोठाबाट तन्ना ल्याए । बन्द रहेको अर्को घरबाट थप सिरक ल्याए । तकिया त पहिले नै थिए । सोलरको धिपधिपे बत्तीले खासै उज्यालो छरेको थिएन । अगेनाको अगाडी बसेर खाना खायौँ । आफूले लगेका टबेल र तन्नासमेतको व्यवस्थापन गर्यौँ । जर्साबलाई स्वागत गर्न घोडा लिई झिग्राना झर्दै गरेका मेजरले कोठामा पसेर हरिसिंह र हामीसँग केही सोधपुछ गरे । उनी आफ्नो बाटो लागेपछि हरिसिंहसँग कुराकानी सुरु भयो ।
उनकी पत्नी मिना उनलाई सहयोग गर्न आउन नसक्नाको कारण सोधेँ। घरका सदस्यको रेखदेख गर्दैमा उनलाई फुर्सद नमिल्ने उनले सुनाए । हुर्किसकेका तीन छोरा र एक बुहारीसमेत घरमा हुँदा उनलाई नमिल्ने के रहेछ भन्ने खुल्दुली बढ्यो । बिस्तारै उनी खुल्दै गए । उनले भने ‘मिनाले हालसम्म दसजना छोराछोरीलाई जन्म दिइन । तीमध्ये दुईजना बिते । अहिले छजना छोरा र दुईजना छोरी छन् । जेठो छोराको श्रीमती छिट्टै बच्चालाई जन्म दिने तयारीमा छन् । छोरीतर्फका बच्चाको रेखदेख पनि मिनाकै जिम्मामा छ। लकडाउनको अवधिमा उनी घरमा बसेको हुनाले फेरि बच्चा हुन सक्नेमा आशावादी देखिए । उनले भने ‘हजुरहरूको आशीर्वादले फेरी बच्चा नहोला भन्न सकिन्न’ । उनी निश्चिन्त थिए । अनुहारमा कत्ति चिन्ता र उदासीपन थिएन ।
उनको कुराले अचम्मित एवं स्तब्ध तुल्यायो । महिलालाई वर्षेनि सन्तान जन्माउने साधनको रूपमा हेर्ने पुरुष प्रवृत्ति हरिसिंहमार्फत छर्लङ्ग भयो । छोराछोरीको उचित खानपान, रेखदेख, शिक्षादीक्षा र सफल भविष्यलाई भन्दा निरन्तर जन्मलाई नै प्रधानता दिने उनको स्वभावले झस्कायो । मिनाप्रति अत्यन्तै दया पलायो । वर्षेनी गर्भधारण गरी घरमै असुरक्षित तवरले बच्चा जन्माउनुपर्दा उनको स्वास्थ्यमा पुगेको क्षति सहजै आँकलन गर्न सकिन्थ्यो । तत्कालका लागि हरिसिंहप्रति घृणा जाग्यो । ‘दुई सन्तान, इश्वरका वरदान’ मान्यताको जिल्ला सदरमुकामबाट एक घन्टा दूरीको गाउँमा पर्न नसकेको प्रभावको स्पष्ट बोध भयो । सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य र यससम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय, प्रदेश तथा संघीयस्तरबाट भएको प्रयास र राज्यको साधनको उपयोगको अवस्थाका सम्बन्धमा मनमा अनेकन् प्रश्न उब्जिए ।
गैरसरकारी संस्थाहरूको प्रयास देखाउनकै लागि रहेछ भन्ने लाग्यो । गाउँ गाउँमा खुलेका सहकारीहरूको महिला स्वास्थ्य, पारिवारिक तथा सामाजिक विषयहरू एवं महिला सशक्तीकरणमा ध्यान पुग्न नसकेकोमा दुबिधा भएन । तल्लोस्तरसम्म स्वास्थ्य संस्था विस्तार भएको, महिला स्वास्थ्य कार्यकर्ता अर्थात् स्वयंसेविकाहरूको उपस्थिति पर्याप्त रहेको अवस्थामा पनि समाजको यथार्थताले मन कुँडियो । आमा समूह तथा अन्य सामुदायिक संस्थाहरूको निस्प्रभावी भूमिकाले दिग्भ्रमित तुल्यायो ।
नेपालको संविधानको धारा ३८ मा रहेको ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ’ भन्ने व्यवस्थाले मिना र उनीजस्ता गाउँमा बसोबास गर्ने अधिकांश महिलाहरुलाई प्रभाव नपारेकोमा दुई मत रहेन । राष्ट्रिय स्वास्थ्य नीति, २०७६ को ‘सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ र पहुँचयोग्य बनाइनेछ’ भन्ने प्रावधानले कतै उनीहरुलाई गिज्याइरहेको त छैन भन्ने लाग्यो । आवधिक योजनाका व्यवस्था मनमा खेलिरहे । तीन तहकै सरकारका वार्षिक बजेट र नीति तथा कार्यक्रमहरूको कार्यान्वयनबाट गाउँमा बसोबास गर्ने महिलाहरूका लागि पुग्न सकेको लाभको स्तरका सम्बन्धमा आँकलन गर्न कठिनाइ भएन ।
हरिसिंहले परिवार नियोजन नगर्नाको कारण जान्न मन लाग्यो । उनले भने –‘गाउँमा परिवार नियोजनको परिपाटी छैन । कुनै कुनै महिलाले गरेका हुन सक्छन् । पुरुषले गर्ने चलन छैन । शारीरिक कमजोरी हुने, काम गर्न नसकिने, सामाजिक क्रियाकलापमा सहभागी हुन नसक्दा समाजले बहिष्कार गर्न सक्ने हुँदा मैले पनि गरिन । कहिलेकाहीँ गर्ने सोच आउँछ तर समाजले अवहेलना गर्ने डरले गर्न सक्दिन ।’ दस जना बच्चा कसरी जन्मिए त भन्ने जिज्ञासामा ठट्यौली पारामा उनले भने–‘यहाँबाट पन्ध्र दिनमा घर जान्छु । घर गएपछि सम्पर्क हुन्छ । अनि हजुरहरूको आशीर्वादले बच्चा जन्मिन्छ ।’ अस्थायी साधनको प्रयोग गर्नेमा उनी पूर्णतः बेखवर देखिए । उनलाई निकै सम्झाउने प्रयास गर्यौँ । जिल्ला अस्पताल गएर आफैले परिवार नियोजन गर्न सुझाव दियौँ। उपचार निःशुल्क हुने र आतेजाते खर्चसमेत उपलब्ध हुन सक्ने जानकारी गरायौँ । सुत्नु अगाडी उनले अबको तीन महिनाभित्र समाजका कसैले थाहा नपाउने गरी परिवार नियोजन गर्ने बचन दिए । अर्को दिन बिहान उठेर हिँड्नु अगाडि पनि हरिसिंहसँग तिनै कुरा भए ।
सो दिन सकभर छिटै खप्तड पुग्ने र अर्को दिन बिहानै त्यही बाटो भएर फर्किने सोचमा हामी थियौँ। त्यस दिन अरू कोही पाहुना आउने जानकारी नहुँदा हरिसिंह आफ्नो घर फर्किने तयारीमा थिए । उनले भोलिपल्ट बिहानै बिचपानी आइपुग्ने बताए । अर्को दिन एघार बज्दाबज्दै हामी त्यहाँ आइपुग्यौँ । छोरो नरेन्द्रसमेतलाई भारी बोकाएर हरिसिंह केही अघि मात्र बिचपानी आइपुगेका रहेछन् । हतार हतार खाना बनाए । हिँड्ने बेलामा उनको सेवामुखी व्यवसायको सम्बन्धमा भ्रमणमा आउन खोज्नेहरूसँग सकारात्मक वर्णन गरिदिने बतायौँ । उनले भने–‘हजुरहरूको आशीर्वादले धेरैको सेवा गर्ने र आम्दानी समेत गर्ने मौका मिल्ने नै छ ।’ तीन महिनाभित्र परिवार नियोजन गरिसक्ने वाचा पूरा गर्न स्मरण गरायौँ । ठट्यौली पारामा उनले जवाफ फर्काए–‘हिजो फेरि घर गए, सम्पर्क पनि भयो, अस्तिसम्म केही भएको रहेनछ भने पनि हजुरहरूको आशीर्वादले गर्दा फेरि बच्चा भइहाल्छ कि।’
उनको अबोध तथा निष्कपट अभिव्यक्ति मनमा अत्यन्तै बिझायो । परिवार नियोजन, मातृ तथा शिशु स्वास्थ्यका सम्बन्धमा राज्य र सरोकारवाला सबैको दशकौँको प्रयासका बाबजुद प्राप्त उपलब्धि, समाजको सोच र व्यक्तिको दृष्टिकोणसमेतले बिलखबन्द भई ओरालो लाग्यौँ।