वीरगञ्ज । पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ ।
महोत्तरी निवासी जगरनाथपुर गाउँपालिकामा कार्यरत ५८ वर्षीय सिनियर अहेबको सोमबार उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार काठमाण्डौंको बुढानिलकण्ठस्थित करुणा अस्पतालमा उपचारको क्रममा सोमबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।
जगनाथपुरमा नै रहँदा भदौ १९ गते उनलाई रुघाखोकी र ज्वरो आएको थियो । यता एक्लै भएकोले उनी बिदा लिएर घर गएका थिए । घरमा गएर आराम गर्दा समेत स्वास्थ्यमा सुधार नआएपछि उनलाई उपचारका लागि जनकपुरमा लगिएको थियो । चन्द्रकला अस्पताल जनकपुरमा उपचार गराउँदा पनि स्वास्थ्यमा खासै सुधार नआएपछि उनलाई थप उपचारका लागि असोज १ गते काठमाडौं लगिएको थियो ।
उपचारका लागि टिचिङ अस्पताल लगिए पनि त्यहाँ आईसीयू बेड खाली नभएपछि उनलाई करुणा अस्पतालमा भर्ना गरिएको थियो ।
असोज ५ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । अवस्था गम्भीर बन्दै गएपछि असोज ७ गते रातिदेखि नै उनलाई भेन्टिलेटरमा राखिएको थियो ।