क्षेत्राधिकार बाहिरकालाई नर्सिङ काउन्सिलले दिलायो लाइसेन्स « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

क्षेत्राधिकार बाहिरकालाई नर्सिङ काउन्सिलले दिलायो लाइसेन्स


ममता भट्ट

१२ आश्विन २०७७, सोमबार


डडेल्धुरा । नेपाल नर्सिङ काउन्सिलले आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको व्यक्तिलाई लाइसेन्स वितरण गरेको खुलेको छ ।

नर्सिङ अध्ययन नगरेको व्यक्तिलाई रजिस्ट्रार विन्दा घिमिरेले बिरामीको उपचार गर्न योग्य भनी दर्ता प्रमाणपत्र दिएको पाइएको छ ।

डडेल्धुराकी माया पन्तलाई नेपाल नर्सिङ काउन्सिलकी रजिस्ट्रारले दर्ता प्रमाणपत्र दिएको खुलेको हो । पन्त नर्सिङ विधामा आवद्ध व्यक्ति होइनन् ।

नेपाल नर्सिङ काउन्सिलकी रजिस्ट्रार विन्दा घिमिरेको गलत नियतले माया पन्त समस्यामा परेकी छिन् । डडेल्धुरा पारामेडिकल क्याम्पसमा सहायक आयुर्वेदिक स्वास्थ्यकर्मी (एएएचडब्ल्यू) को १५ महिने अध्ययन सकेकी उनलाई रजिस्ट्रार घिमिरेले अनमीको पदमा दर्ता गराएकी छन् ।

आयुर्वेद अध्ययन गर्नेहरूको लाइसेन्स नरदेवी आयुर्वेद काउन्सिलमा दर्ता हुन्छ । नर्सिङ संघमा पन्तको दर्ता नम्बर ४४७१९ रहेको छ ।

माया पन्तले आफू पीडित भएको बताएकी छिन् । ‘किन र कुन उद्देश्यले रजिस्ट्रारले मलाई नर्सिङको लाइसेन्स दिनुभयो आफैँ अनुत्तरित भएकी छु’, उनले भनिन् । नर्सिङ अध्ययन नगरेको व्यक्तिलाई लाइसेन्सको प्रमाणपत्र उपलब्ध गराउने रजिस्ट्रार घिमिरेले अख्तियारको दुरुपयोग गरेको काउन्सिलका अधिकारीहरू बताउँछन् ।

‘प्रदेश सरकारले आयुर्वेदका लागि लोक सेवा खुलाएको छ, पन्तले भनिन् ‘रजिस्ट्रारले गरेको गल्तीले मैले त्यहाँ सहभागी हुन नपाउने अवस्था आएको छ । आफूले रजिस्ट्रार घिमिरेलाई फोन सम्पर्क गरेर बताउँदा उनले सच्याउनेभन्दा पनि बाहिर हल्ला नगर्न भनेको गुनासो गरिन् ।

‘आगामी १४ गते मेरो परीक्षा छ, तर लाइसेन्स नर्सिङको छ, एक हप्ताभित्र नसच्याए कानुनी बाटो खोज्ने पन्तले बताइन् । यस विषयमा रजिस्ट्रार घिमिरेसँग बुझ्न पटक पटक फोन गर्दा सम्पर्कमा आइनन् । उनले पीडितलाई काउन्सिलले दिएको प्रमाणपत्र कसैलाई नदेखाउन दिनहुँ फोन गर्दै आएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस