राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन शुरु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन शुरु


१० आश्विन २०७७, शनिबार


डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ ।

गत वर्षदेखि नै शुरु भएको उक्त कार्यक्रम कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण रोकिएको थियो । कोरोना भाइरस सङ्क्रमण जोखिम नियन्त्रणका आवश्यक उपाय अवलम्बन गरी सामाजिक दूरी कायम गरेर आजबाट जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण सङ्कलनका काम शुरु गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराइले बताए । उनले भने, “कोरोना सङ्क्रमणका कारण रोकिएको राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण सङ्कलनको काम पुनः शुरु भएको छ, नागरिकता पाएका व्यक्तिले आफ्नो विवरण बुझाउन सक्नेछन् ।”

उनले राष्ट्रिय परिचयपत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैलाई नागरिकताको सक्कलै प्रति अनिवार्य बोकेर जिल्ला प्रशासन कार्यालयमा आउनसमेत आग्रह गरे। जिल्लाका नौ वटै स्थानीय तहका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न थालिएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत शिबकुमार राईले बताए। उनले भने, “राष्ट्रिय परिचयपत्रका लागि विवरण पेश गर्न आएका सबै जनाको हामीले विवरण सङ्कलन गर्न थालेका छौँ, सक्कल नागरिकता बोकेर आएका सबैको विवरण सङ्कलन गरिने छ ।”

जिल्ला प्रशासनले नागरिकता बनाउन आउने सबै व्यक्तिको अबदेखि राष्ट्रिय परिचयपत्रका लागि समेत विवरण सङ्कलन गर्ने प्रजिअ बताए।
सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचयपत्र बाँडिनेछ । परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुबा र आमाको नागरिकता पनि आवश्यक पर्नेछ ।

दश अङ्कको नम्बर रहेको परिचयपत्रमा नागरिकको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका औँठाछाप, शैक्षिक योग्यता, पेशा अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने छ ।

यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछ । केन्द्रीय विभागबाट राष्ट्रिय परिचयपत्र जिल्लामा आइपुग्न छ महिना लाग्ने प्रजिअ भट्टराईले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस