प्रकृतिसँग मजाक नगर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रकृतिसँग मजाक नगर


संगीता सुवेदी

१० आश्विन २०७७, शनिबार


तिम्रो जीवन हो, तिम्रै मर्जी
जे मन लाग्छ गर
तर प्रकृतिसँग बेतुकको मजाक नगर ।

डोजरले धर्तीको छाती जथाभाबी उधिनेर
सडकको नाउँमा पाखो भत्काएर
मजाक नगरेको भए
आज पुरिनु पर्थेन
नाबालकहरूलाई गहिरो पहिरो भित्र

नदीनालाको बाटो छेकेर
गगनचुम्बी महल खडा गरी
मजाक नगरेको भए
डुबेर हराउन पर्थेन
सुत्केरी आमाहरू

धर्तीले त काख दिएको हो
पसिना पोखेर बाली उब्जाउन
तिमीले पो विषालु फोहर थुपारेर
आमाको काखमा मजाक ग–यौ
सुरुङ खनेर शरीर भरी
बारुद विस्फोट गरायौ
अनि त धर्तीको मुटु बेसरी हल्लियो
र त तिम्रा सपनामा काटी सल्कियो

रगत बग्नु पर्ने नसामा फोहर बगाउँदै
फोक्सोमा तातो विषालु हावा भर्दै
अब त भो तिमी आफैसँग नभाग
आफ्नै कुकर्म र स्वार्थसँग नभाग

यो रफ्तारलाई एक छिन
ब्रेक लगाएर सोच
तिमी र प्रकृति सँगसँगै हाँस्नुपर्छ
छुटेका रङ र छोडिएका सम्बन्धको
नवीन आयामहरू खोज

तिम्रो जीवन हो ,तिम्रै मर्जी
जे मन लाग्छ गर
तर प्रकृतिसँग घरीघरी मजाक नगर ।

प्रतिक्रिया दिनुहोस