विच्याटमाथि प्रतिबन्ध नलगाउन अमेरिकी अदालतको आदेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विच्याटमाथि प्रतिबन्ध नलगाउन अमेरिकी अदालतको आदेश


एजेन्सी

६ आश्विन २०७७, मंगलबार


काठमाडौं । अमेरिकामा चिनियाँ एप विच्याटमाथि प्रतिबन्ध नलगाउन अमेरिकाको एक अदालतले आदेश दिएको छ । अमेरिकी मेजिस्ट्रेट अदालतको न्यायाधीश लउरेल बीलरले विच्याटमाथिको प्रतिबन्धले वाक् स्वतन्त्रताको संवैधानिक हकमाथि गम्भीर प्रश्न उठाएको भन्दै विच्याटमाथि प्रतिबन्ध नलगाउन आदेश दिएका हुन् ।

अमेरिकामा आइतबारदेखि लागू हुनेगरी अमेरिकी वाणिज्य मन्त्रालयले विच्याटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । राष्ट्रिय सुरक्षामाथि विच्याट तथा टिकटक लगायतका चिनियाँ एपहरुले खतरा पैदा गरेको ट्रम्प प्रशासनको आरोप रहेको छ । चीनले भने यसको खण्डन गरेको छ । विच्याटको स्वामित्व रहेको चिनिया कम्पनी टेनसेन्टले विच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी कदम दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेको थियो ।

अब अदालतको आदेशपछि विच्याट पनि बन्द नहुने देखिएको छ ।

विच्याट प्रयोगकर्ताहरुको एक समूहले मेजिस्ट्रेट अदालतमा विच्याटमाथि बन्देज नलगाउन माग गर्दै मुद्दा हालेका थिए । त्यसको सुनुवाइ गर्दै अदालतले विच्याटमाथि प्रतिबन्ध नलगाउन आदेश दिएको हो । न्याय मन्त्रालयले भने राष्ट्रिय सुरक्षामाथिको खतरालाई सम्बोधन गर्नका लागि राष्ट्रपति ट्रम्पको योजना बमोजिम विच्याटमाथि प्रतिबन्ध लगाउन लागिएको जवाफ दिएको थियो ।

सनफ्रान्सिस्कोस्थित अदालतमा न्यायाधीश बीलरले चीनबाट आम प्रविधि तथा मोबाइल प्रविधिसँग सम्बन्धित विषयमा पैदा भैरहेको राष्ट्रिय सुरक्षाको चुनौति उल्लेखनीय रहेको भएपनि विच्याटकै विरुद्धमा भने बलियो प्रमाण नरहेको ठहर गरे ।

अमेरिकी वाणिज्य मन्त्री विल्बर रोसले एक विज्ञप्ती मार्फत् अमेरिकी नागरिकहरुका व्यक्तिगत डाटाहरु संकलन गर्ने चिनियाँ कदमविरुद्ध लड्नका लागि चिनियाँ एपहरुमाथि बन्देज लगाउने निर्णय गरिएको बताएका थिए । विच्याटले प्रयोगकर्ताहरुबाट नेटवर्क एक्टिभिटी, लोकेसन डाटा, ब्राउजिङ तथा सर्च हिस्ट्री लगायतका विविध डाटाहरु संकलन गर्ने गरेको रोसको भनाइ छ । बीबीसी

प्रतिक्रिया दिनुहोस